काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीसँग ऐतिहासिक वार्ता हुने गरी दुई देशले अन्तिम तयारी गरेका छन् । प्रधानमन्त्री शाह यही मङ्सिर ६ र ७ गतेको दुईदिने उच्चस्तरीय राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुहुने कार्यसूची रहेको छ । भ्रमणका अवसरमा दुई देशका प्रधानमन्त्रीको उच्चस्तरीय भेटवार्तालाई ऐतिहासिक र उपलब्धिमूलक बनाउन भइरहेको पहलका बारेमा भारत सरकारले नेपाल सरकारलाई अवगत गराएको छ ।
नेपालका लागि भारतका राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री शाहसमक्ष बुधबार शिष्टाचार भेट गर्नुभएको छ । सो क्रममा प्रधानमन्त्री शाहले आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिनुभयो । प्रधानमन्त्री शाहको चासोपछि भारतको तयारीका बारेमा अवगत गराउँदै उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्रीसँग तय भएको भेटवार्ता ऐतिहासिक र महìवपूर्ण हुने अवगत गराउनुभएको हो ।
भ्रमणको तयारीमा सहजीकरण गरिरहनुभएका राजदूत दलेलाले प्रधानमन्त्री शाहको भ्रमणका लागि भारत सरकारले आफ्नोतर्फबाट एजेन्डा तय गरिसकेको पनि प्रधानमन्त्री शाहसमक्ष अवगत गराउनुभयो । भ्रमणलाई थप उपलब्धिमूलक बनाउन भारत सरकारका सरोकारवाला निकायहरूबिच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी राजदूत दलेलाले दिनुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त हुनुभएकोमा बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
गत भदौ १० गते नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले तत्काल उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गर्नुभयो । साथै भेटवार्तामा नेपाल र भारतबिचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री शाहलाई राजदूत दलेलाले भारतका प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो । उहाँले आगामी उच्चस्तरीय भ्रमणका लागि जारी तयारीको विवरण प्रधानमन्त्री शाहलाई अवगत गराउनुभएको नेपालस्थित भारतको दूतावासले जनाएको छ । प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी बाढीपछि प्रदान गरिएको भारतको सहयोगका लागि प्रधानमन्त्री मोदी र भारत सरकारप्रति आभार व्यक्त गर्नुभएको थियो ।
भारत र नेपालबिचको मित्रता र सहयोगको अद्वितीय सम्बन्धलाई अगाडि बढाउन प्रधानमन्त्री शाहको बहुमूल्य मार्गदर्शन र दृष्टिकोणका लागि दूतावासले धन्यवाद प्रकट गरेको छ । नेपालसँग भारतको गहिरो सांस्कृतिक र सभ्यतागत सम्बन्धसँगै बलियो जनसम्बन्धमा आधारित घनिष्ठ साझेदारीलाई अझ गहन बनाएर सँगै काम गर्न प्रतिबद्ध रहेको दूतावासले प्रस्ट्याएको छ । भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह छिमेकी मुलुकमा आगामी साता पहिलो औपचारिक भ्रमणमा जान लाग्नुभएको हो । उहाँ मङ्सिर ६ गते भारत प्रस्थान गर्दै भोलिपल्ट मङ्सिर ७ गते स्वदेश फर्कनुहुने कार्यसूची रहेको छ ।
सहयोगको अपेक्षा
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपालको ऊर्जा क्षेत्रमा भारतको लगानी बढाउने, हवाई, रेलवे, सडकलगायतका सम्पर्क सञ्जालमा व्यापक बढोत्तरी गर्ने सम्झौताको तयारीमा दुई देशका सरकारले गृहकार्य जारी राखेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार आवश्यक आर्थिक, राजनीतिक र विकास सहकार्यलाई कार्यसूचीमा पार्न मन्त्रालयको पहल जारी रहेको छ ।
रसुवा–भोटेकोशी हिमबाढीपछि भारतसँग पुनर्निर्माणका लागि नेपाल सरकारले थप सहयोगको अपेक्षा गरेको छ । यस अपेक्षालाई नेपाल सरकारले अनौपचारिक रूपमा भारत सरकारसँग विगतदेखि नै छलफल गरिरहेको छ । उक्त छलफलका विषयमा भारतका विदेशसचिव विक्रम मिश्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनालले अपेक्षासहित चासो व्यक्त गर्नुभएको थियो । त्यस विषयमा भारत सरकार सकारात्मक रहेको सन्देश सचिव मिश्रीले दिनुभएको थियो ।
जस अनुसार सरकारले हिमबाढीग्रस्त क्षेत्रको पुनर्निर्माण र पुनस्र्थापनाका लागि अनुमानित दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोगको अपेक्षा भारत सरकारसँग गरेको छ । उक्त विषयलाई प्रधानमन्त्री शाहको भारत भ्रमणको प्रमुख एजेन्डामा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा अर्थ र परराष्ट्र मन्त्रालयले छलफल जारी राखेको छ ।
खुलेर कुरा गर्न सुझाव
प्रधानमन्त्री शाहको भ्रमणमा सरकारका तर्फबाट समस्या र सम्भावनाका दुवैथरी आयाममा द्विपक्षीय विमर्श हुनुपर्नेमा भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य जोड दिनुहुन्छ । नेपालको कार्यसूचीमा दुवैथरी आयामलाई सरकारले सन्तुलित ढङ्गले प्रस्तुत गर्नुपर्ने सुझाव उहाँ दिनहुन्छ । जमिनको सिमाना जोडिएको सवालमा सीमा समस्या हुनु ठुलो कुरा होइन तर ती समस्या हल गर्न अपनाउनुपर्ने कूटनीतिक पहल महìवपूर्ण कुरा भएको उहाँ औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “मित्रवत् सम्बन्धमा समस्या हुन्छन् तर मित्रवत् रूपमै खुलेर कुरा गर्न हच्किनु हुन्न, दुई देशबिच साझेदारीका पनि अनेकन अवसर छन्, त्यो पनि खुलेर विमर्श गर्नु पर्छ ।” सरकारले तयारी गर्दा भारतको मनसाय पनि बुझ्नुपर्ने पूर्वराजदूत आचार्य बताउनुहुन्छ ।