प्रमुख समाचार

खानीगाउँको आफ्‌नै वडा कार्यालय निर्माण गर्न शुरु

By लोकतन्त्र अनलाईन

June 18, 2026

पर्वत- पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा वडा कार्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु भएको छ । बुधबार आयोजित कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले भवनको शिलान्यास गर्नुभएको हो ।

हालसम्म खानीगाउँ स्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको भवनबाट सेवा प्रवाह गर्दै आएको वडा कार्यालय अब आफ्नै भवनमा सञ्चालन हुने भएको छ । भवन निर्माणपछि स्थानीय नागरिकले थप व्यवस्थित र सहज सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख तिवारीले विकास निर्माणका काममा नागरिकको सहभागिता र निगरानी महत्वपूर्ण हुने बताउनुभयो । जनताको आवश्यकता र प्राथमिकतालाई आधार बनाएर नगरपालिकाले योजना सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले नगरको बजेट पारदर्शी ढंगले खर्च भइरहेको दाबी गर्नुभयो । नगरप्रमुख तिवारीले भ्रष्टाचार र कमिशनको कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिँदै निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गर्नुभयो ।

वडा कार्यालय तथा ईलाका प्रहरी चौकी निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासीले चन्दा संकलन गरेर खरिद गरेका हुन् । वडा अध्यक्ष नारायण लामिछानेका अनुसार ८ रोपनी ४ आना जग्गामध्ये ५ रोपनी ३ आनामा इलाका प्रहरी चौकी र ३ रोपनी १ आनामा वडा कार्यालय भवन निर्माण गरिनेछ । वडा अध्यक्ष लामिछानेले इलाका प्रहरी चौकी भवन निर्माणका लागि संघीय सरकारमार्फत ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको जानकारी दिँदै आगामी साउनभित्र प्रहरी चौकी भवनको समेत शिलान्यास गरिने बताउनुभयो ।

प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको वडा कार्यालय भवनका लागि प्रदेश सरकारबाट ६१ लाख रुपैयाँ विनियोजन गरिएको छ । भवनको कुल लागत अनुमान १ करोड २४ लाख ६२ हजार रुपैयाँ रहेको छ । छ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको एकतले भवनमा चार वटा कोठा रहनेछन् ।

कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा कुमारी क्षेत्री, प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, समाजसेवी भोलानाथ शर्मा लम्साल, लिमिठानाका वडा अध्यक्ष केशव पन्त, नेपाली काँग्रेस फलेवास नगरसमितिका सभापति हिरामणि सापकोटा, नेपाल पत्रकार महासंघ पर्वतका सचिव साजन परियार, राष्ट्रिय भुमि अधिकार मन्च नेपालका अध्यक्ष ल्यामवहादुर दर्जी, नेकपा एमालेका नेता बिक्रम जि.सी, नेपाल कम्युनिष्ट पार्टीका नेता तोयनाथ पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी खानीगाउँका अध्यक्ष कृष्णप्रसाद सुवेदी र जग्गादाता सिताराम लामिछाने लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा जग्गादाता तथा चन्दादाताहरूलाई सम्मानसमेत गरिएको थियो ।कार्यक्रममा भवन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै समाजसेवी भोलानाथ लम्साललाई नगरपालिकाले विशेष सम्मान गरेको थियो ।