पर्वत- मनसुनजन्य विपद्का घटनामा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कुश्मा नगरपालिकाले करिब साढे दुई लाख रुपैयाँ बराबरका विपद् उद्धार सामग्री सशस्त्र प्रहरी बल नेपाल नं.२५ गण हेडक्वार्टर चण्डिका पर्वतलाई हस्तान्तरण गरेको छ।
नगरप्रमुख रामचन्द्र जोशीले गणपति क्षितिज क्षेत्रीलाई सामग्री हस्तान्तरण गर्दै विपद्को समयमा सबैभन्दा अगाडि रहेर उद्धारमा खटिने सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि सहयोग गरिएको बताए। उनले वर्षायाममा हुन सक्ने सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का बेला उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक सामग्री उपलब्ध गराएको उल्लेख गरे।
नगरपालिकाका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा कोदालो, फायर ब्लाङ्केट, अग्नि नियन्त्रण यन्त्र, गमबुट, सेफ्टी गगल्स, फलामे कैंची, टर्चलाइट, एक्सटेन्सन कर्ड, निआड, बाँस काट्ने औजार, फायर बेल्ट, सेफ्टी बेल्ट, वाटरलाइन, गैंती, बन्चरो, साबेललगायत २२ प्रकारका उद्धार सामग्री रहेका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले जिल्ला आपत्कालीन उद्धार केन्द्रको मातहतमा प्रयोग हुने गरी सामग्री उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार नगरपालिकाले विपद् उद्धार सामग्री खरिद कार्यक्रमअन्तर्गत सामग्री खरिद गरी सुरक्षा निकायलाई हस्तान्तरण गरेको हो।
नगरपालिकाले वर्षायाममा हुन सक्ने विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउन आवश्यक पूर्वतयारीस्वरूप सामग्री उपलब्ध गराएको जनाएको छ। विपद् व्यवस्थापनमा स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्यले सम्भावित जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।