पर्वत २ असार : सशस्त्र प्रहरी बल, नेपालका संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले पर्वत, बागलुङ र म्याग्दी जिल्लास्थित सशस्त्र प्रहरी इकाईहरूको निरीक्षण भ्रमण गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, पोखराको २५औँ स्थापना दिवस (रजत महोत्सव ) का अवसरमा पोखरा आउनुभएका महानिरीक्षक पौडेलले बाहिनी मातहतका विभिन्न इकाईहरूको निरीक्षण गर्दै कार्यरत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको हो ।
उहाँले वर्तमान परिस्थितिमा सशस्त्र प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन, सीमा सुरक्षा तथा राष्ट्रको आन्तरिक र बाह्य सुरक्षामा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उहाँले गण्डकी प्रदेशको सुरक्षा व्यवस्थापनमा पर्वत, बागलुङ र म्याग्दीस्थित इकाईहरूको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
मनसुन सुरु भइसकेको सन्दर्भमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा तत्काल र प्रभावकारी रूपमा परिचालन हुन आवश्यक तयारी अवस्थामा रहन उहाँले मातहत कर्मचारीलाई निर्देशन समेत दिनुभयो । साथै, सीमित स्रोत–साधनका बाबजुत पनि संगठनले कर्मचारीहरूको वृत्तिविकास तथा कल्याणकाकारी कार्यका लागि प्रयास जारी राखेको उहाँको भनाई छ । भ्रमणका क्रममा महानिरीक्षक पौडेलले इकाईहरूको दैनिक कार्यसम्पादन, व्यवस्थापन तथा सुरक्षा अवस्थाका जानकारी लिनुका साथै सम्बन्धित जिल्लाका सुरक्षा समितिका पदाधिकारी, पूर्व सशस्त्र प्रहरी कर्मचारी तथा अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारजनसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हे. क्वा. चण्डिका, पर्वतका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले संगठन प्रमुखको भ्रमणले मातहतका कर्मचारीहरूको मनोबल उच्च हुनुका साथै राष्ट्र सेवामा अझ समर्पित भएर कार्यसम्पादन गर्ने प्रेरणा मिलेको बताउँदै उहाँको निर्देशन पालना गर्दै अघि बढ्ने बताउनुभयो ।