काठमाडाैं- नेपाल र भारतका प्रमुख सांस्कृतिक नगरी जनकपुरधाम र अयोध्याबिच साप्ताहिक ‘द्रुत रेलसेवा’ सुरु हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७ मंसिरमा नयाँदिल्लीबाट भिडियोमार्फत रेलसेवाको संयुक्त रूपमा उद्घाटन गर्ने तय भएको हो ।
प्रारम्भिक कार्यतालिकाअनुसार ७ मंसिरको अपराह्न नयाँदिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्रीद्वय शाह र मोदीले रेलवे सेवाको उद्घाटन गर्नेछन् । भारतीय रेलवेले जनकपुर र अयोध्याबिच ‘नयाँ बन्दे भारत रेलवे’ सञ्चालन गर्न प्राविधिक परीक्षण गरिसकेको छ ।
‘भारत–नेपाल कनेक्टिभिटी (सम्पर्क सञ्जाल) सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम चाल्दै भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबिच नयाँ साप्ताहिक रेलसेवा सञ्चालन गर्न स्वीकृति दिएको छ,’ भारतीय रेलवेद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस सेवाले रामायण परम्परासँग गहिरो रूपमा जोडिएका दुई गन्तव्य– माता सीताको जन्मस्थलका रूपमा पूजनीय जनकपुरधाम र प्रभु श्रीरामको जन्मस्थल अयोध्याबिच एक महत्वपूर्ण रेल सम्पर्क स्थापित गर्नेछ ।’
यो पहलले दुवै देशका यात्रुलाई यी प्रमुख धार्मिक तथा सांस्कृतिक केन्द्रमा सहज पहुँच प्रदान गर्नुका साथै दुई देशको साझा सभ्यतागत सम्पदालाई थप बलियो बनाउने पनि भारतीय रेलवेले जनाएको छ । अयोध्या–जनकपुर रेलसेवा सञ्चालनबारे भारतीय प्रधानमन्त्री मोदीले लामो समयदेखि चासो दिँदै आएको एक भारतीय कूटनीतिक अधिकारीले बताए ।
‘प्रधानमन्त्रीका रूपमा मोदीजीको तेस्रो कार्यकाल सुरुवात भएको सय दिनका अवसरमै अयोध्या–जनकपुर रेलसेवा सुरु गरौँ भन्ने उहाँको चाहना थियो, यद्यपि प्राविधिक कार्यहरूको व्यवस्थापनले गर्दा ढिलो हुन गएको छ । नेपालको नयाँ सरकारसँग सहकार्यको सुरुवात नै रेलसेवाबाट हुने भयो,’ ती अधिकारले भने, ‘अयोध्या–जनकपुर रेलसेवामा प्रधानमन्त्रीजीले प्रत्यक्ष रूपमा चासो राखिरहनुभएको छ, नियमित रूपमा ब्रिफिङ लिइरहनुभएको छ ।’
उद्घाटनका क्रममा अयोध्यास्थित अयोध्या केन्ट रेलवे स्टेसनमा उत्तर प्रदेशकी राज्यपाल आनन्दीवेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव, उपमुख्यमन्त्री केशवप्रसाद मौर्य र ब्रजेश पाठकलगायत उच्च भारतीय अधिकारीले हरियो झन्डा हल्लाएर रेलवे सेवा सुरुवात गर्नेछन् । जनकपुरस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले अयोध्या–जनकपुरधाम रेलवे सेवा शुभारम्भ कार्यक्रममा उत्तर प्रदेश सरकारले निमन्त्रणा गरेको जानकारी दिए ।
‘यो ऐतिहासिक क्षण हाम्रा लागि निकै नै खुसीको हुनेछ । हामीलाई भारत सरकारबाट निमन्त्रणा आएको छ र सम्भव भएसम्म सहभागी हुने तयारी गर्दै छु,’ उत्तराधिकारी महन्थ दासले भने, ‘सुरुमा हप्तामा एउटा रेल नै चल्दा पनि यसले जनकपुरको अभिवृद्धिमा सहयोग पुग्नेछ ।’
नयाँ बन्दे भारत रेलवेले जनकपुधाम र अयोध्याबिच करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ । ‘यो साप्ताहिक रेलसेवाले बिहार र उत्तर प्रदेशका विभिन्न महत्वपूर्ण सहर तथा नगरहरू हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ,’ भारतीय रेलवेले भनेको छ ।
हाल जनकपुरस्थित कुर्था रेलवे स्टेसनबाट सीमावर्ती जयनगरसम्म रेल सेवा सञ्चालन हुँदै आएको छ । एक साताअघि जयनगरबाट कुर्थासम्म विशेष रेल सेवाको प्राविधिक परीक्षण भएको थियो । जम्मा १७ डिब्बाको भारतीय रेल जयनगरबाट कुर्था ल्याएर त्यहाँबाट पुनः कुर्था पठाइएको थियो । जनकपुर–अयोध्या रुटमा अहिले भारतीय रेल मात्रै सञ्चालनमा आउनेछ । सीमापार रेलसेवा सञ्चालन सुरुवात गर्ने तय भए पनि नेपाल र भारतबिच रेलका लागि आवश्यक अध्यागमन र भन्सार कार्यालय भने टुंगिन बाँकी छ ।