रामचन्द्र भुसाल फलेवास- पर्वतको फलेवास नगरपालिका–५, खानीगाउँस्थित भवनपोखरा पार्कमा आयोजना हुन लागेको फलेवास लिट्रेचर फेस्टिवल तथा बृहत् खेलकुद एवं सांस्कृतिक कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित १५ किलोमिटर दूरीको फलेवास रिङ्गरोड दौड प्रतियोगितामा सोनु माझी प्रथम हुनुभएको छ। प्रतियोगितामा प्रवेश भुसाल द्वितीय र वीरेन्द्र खत्री तृतीय हुनुभएको छ भने सोमित सुवेदीले सान्त्वना स्थान हासिल गर्नुभएको छ। प्रतियोगितामा ११ जना युवाको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीले क्रमशः १० हजार, ७ हजार ५००, ५ हजार र २ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउने, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने तथा फलेवासको प्राकृतिक सौन्दर्य र पहिचानलाई व्यापक रूपमा उजागर गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको हो। साहित्य, खेलकुद र संस्कृतिलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित आयोजित प्रतियोगिताले फलेवासमा सामुदायिक सहभागिता र सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। मोती सामुदायिक पुस्तकालय र भवनपोखरा बयरडाँडा पार्क व्यवस्थापन समितिको संयुक्त आयोजनामा सञ्चालन हुने फलेवास लिट्रेचर फेस्टिवल तथा बृहत् खेलकुद एवं सांस्कृतिक कार्यक्रम भोलिदेखि कार्तिक १ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममार्फत फलेवासलाई साहित्य, कला, संस्कृति, खेलकुद र पर्यटनको साझा गन्तव्यका रूपमा चिनाउने लक्ष्य राखिएको छ। महोत्सवमा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका ख्यातिप्राप्त साहित्यकार तथा विज्ञहरूको सहभागितामा साहित्यिक एवं बौद्धिक बहस, कविता, गजल र मुक्तक वाचनका कार्यक्रम सञ्चालन हुनेछन्। त्यसैगरी, राष्ट्रियस्तरमा चर्चा कमाएका कलाकारहरूको सांगीतिक प्रस्तुति, महिला तथा बालबालिकाका लागि म्युजिकल चेयर प्रतियोगिता, खुला घैँटोफोर प्रतियोगिता, भजन–कीर्तन, रत्यौली, सालैजो र झाम्रे प्रस्तुतिसहित ऐतिहासिक देवीलीला प्रदर्शन गरिने कार्यक्रम तय गरिएको छ। महोत्सवमा मनोरञ्जनसँगै धार्मिक, सामाजिक तथा पर्यटनसम्बन्धी गतिविधिलाई समेत प्राथमिकता दिइएको छ। खुला व्यायामशाला सञ्चालन, चहमच्चा, रोटेपिङ र लिङ्गेपिङको मनोरञ्जन, नवग्रह मन्दिरको शिलान्यास तथा वाटर फाउन्टेन सञ्चालन कार्यक्रमका प्रमुख आकर्षण रहनेछन्। यसका साथै ८४ वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने तथा दसैँको अवसरमा च्याङ्ग्रा र खसीबोकाको बिक्री–वितरण गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ। कार्यक्रमका अध्यक्ष विक्रम जिसीका अनुसार महोत्सवलाई साहित्यिक सिर्जना, बौद्धिक विमर्श, मौलिक संस्कृति, खेलकुद र मनोरञ्जनको संगमका रूपमा विकास गर्ने प्रयास गरिएको छ। स्थानीय मौलिक कला तथा संस्कृतिको संरक्षण, नयाँ प्रतिभाको पहिचान, पुस्तान्तरण र पर्यटन प्रवर्द्धनमा महोत्सवले योगदान पुर्याउने अपेक्षा गरिएको छ। एउटै थलोमा साहित्य, खेलकुद, सांस्कृतिक प्रस्तुति र सामाजिक गतिविधि समेटेर आयोजना गर्न लागिएको यस कार्यक्रमले फलेवासको पहिचानलाई थप स्थापित गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।