काठमाण्डौँ – चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको छ । एक महिनामै चामलको मूल्य प्रतिबोरा चार सय रुपैयाँसम्म बढेको छ भने खानेतेल, दाल, चिनी, तरकारी, फलफूल र अन्डाको मूल्य पनि निरन्तर उकालो लागेको छ । उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन् ।
बाढीपहिरोका कारण सडक तथा ढुवानी अवरुद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाइ छ । अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकारकर्मीको आरोप छ । तर, सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकेको छैन ।
नयाँ पत्रिकाले संकलन गरेको बजार भाउअनुसार काठमाडौं उपत्यकामा एक महिनायता धेरै खपत हुने जिरा मसिनो चामलको भाउ बोरामा ४ सय रुपैयाँ बढेको छ । एक महिनाअघि २२ सय रहेको ‘गुडविल’ ब्रान्डको जिरा मसिनो चामल अहिले २६ सय रुपैयाँमा बिक्री भैरहेको भैँसेपाटीस्थित एक किराना पसल सञ्चालकले बताए ।
खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले पनि चामलको मूल्य अस्वाभाविक रूपमा बढेको बताए । ‘सबै खालका खाद्यान्नको भाउ बढेको छ । त्यसमा पनि चामलको मूल्य धेरै बढ्दा आमउपभोक्तालाई असर परेको छ,’ उनले भने ।
खाने तेलको भाउ कार्टुनमै दुई सय ३० रुपैयाँसम्म बढेको छ । सनफ्लावर तेलको प्रतिकार्टुन २७ सय ७० रहेकामा अहिले तीन हजार पुगेको छ । एक कार्टुनमा १० लिटर हुन्छ । १ सय ९० रुपैयाँ रहेको रहर दाल २ सय २० र १ सय ९० रहेको कालो दाल २ सय १० रुपैयाँ पुगेको छ । अन्य दालको भाउ पनि प्रतिकिलो कम्तीमा १० रुपैयाँ बढेको छ । मुरली मकै १ सय २५ बाट बढेर १ सय ३० रुपैयाँ प्रतिकिलो पुगेको छ । अहिले काँचो बदामको भाउ किलोमै ६० रुपैयाँ बढेको छ । एक महिनाअघि २ सय ४० रुपैयाँ रहेको काँचो बदाम अहिले ३ सय पुगेको छ ।
खुद्रा व्यापार संघका अध्यक्ष बज्राचार्यले चाडपर्वअघि विगतमा पनि मूल्य बढ्ने गरेको भए पनि अहिले भोटेकोशी बाढीका कारण ढुवानीमा अवरोध र ढुवानी लागत वृद्धि भएको देखाएर खाद्यान्नको मूल्य धेरै बढाइएको बताए । ‘थोक व्यापारीले बढाइरहेको मूल्य अस्वाभाविक छ । खाद्यान्नको मौज्दात तीन महिनालाई धान्न सक्ने गरी रहेको जानकारी गराइएको हुन्छ,’ उनले भने, ‘तर अहिले बाढीपहिरोको कारण देखाएर मनलाग्दी गरिएको छ । बाढीपहिरो आउनुअघि नै मूल्य बढ्न थालेको हो । चाडपर्व आउनासाथ मूल्य अझ बढाउने परिस्थिति नियन्त्रणमा ल्याउनुपर्छ ।’
उपत्यकामा खाद्यान्न आपूर्ति गर्ने थोक व्यवसायीको संस्था खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले चामलको मूल्य एक महिनाअघिदेखि नै बढेको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य बढेको छ । अर्कातर्फ, नेपालमा नयाँ चामल आउन लागेकाले सञ्चय गर्न आयात भइरहेको छैन,’ उनले भने, ‘कात्तिक लागेपछि स्वदेशी नयाँ चामल आउँछ । त्यसैले चामलको मूल्य अब नियन्त्रणमा आउँछ ।’
त्यस्तै, खाने तेल, गेडागुडी, दाललगायतका खाद्यान्नको मूल्य पनि ढुवानी लागत बढेका कारण बढेको उनको दाबी छ । ‘अहिले तराईका गोदाममा रहेका खाद्य सामग्री ल्याउँदा ढुवानी भाडा तीन गुणासम्म महँगो परेको छ । उपत्यकाभित्रै पनि एक ठाउँबाट अर्को ठाउँमा सामान लैजाँदा ढुवानी भाडा बढी लिने प्रवृत्ति छ,’ संघका अध्यक्ष श्रेष्ठले दाबी गरे, ‘तर पनि व्यवसायी साथीहरूलाई सकेसम्म कम लागत जोडेर मात्र खाद्यान्नको मूल्य निर्धारण गर्न निर्देशन दिएका छौँ ।’
तीन महिनालाई पुग्ने खाद्यान्न भण्डारण हुने गरेको अवस्थामा १० भदौमा आएको भोटेकोशी बाढीपछि मौज्दातमै रहेको खाद्य सामग्रीको मूल्यसमेत बढेको हो कि भन्ने प्रश्नमा उनले भने, ‘यस्तो विषम परिस्थितिमा मौज्दातमा रहेको सामानको मूल्य बढायो भने पाप लाग्छ, त्यसो नगर्नुहोस् भनेर व्यवसायीहरूलाई भनिरहेका छौँ । त्यसैले गोदाममा रहेको सामानको मूल्य बढ्नुहुँदैन । यद्यपि, मूल्य नियन्त्रणका लागि संघका तर्फबाट पहल हुन्छ ।’
ताजा तरकारीको भाउ छोइनसक्नु भएको छ । अधिकांश तरकारी १ सय रुपैयाँ घटी पाइँदैन । बाढी आउनुअघि २ सय रुपैयाँ प्रतिकिलो रहेको कागती अहिले ४ सय ५० पुगेको छ । प्रतिधार्नी एक सयदेखि एक सय २० रुपैयाँ रहेको आलुको भाउ १ सय ४० देखि एक सय ६० रुपैयाँ पुगेको छ । ६०–७० रुपैयाँ प्रतिकिलो रहेको प्याजको भाउ पनि एक सय २० रुपैयाँ पुगेको छ । प्रतिकिलो ५० रहेको काँक्रो ८० र सय रुपैयाँको काउली १ सय ८० पुगेको छ । गाजरको भाउ ८० बाट १२०, लोकल काँक्रो ८० बाट १००, गोलभेँडा ६० बाट १ सय पुगेको छ । त्यस्तै, सरदर ५० रुपैयाँ प्रतिकिलो रहेको भेन्टा, परवल, भिन्डी र करेलाको भाउ पनि प्रतिकिलो ८० रुपैयाँ पुगेको छ ।
नेपाल कृषि उपज आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले आलु र प्याजको आपूर्ति आयातमै निर्भर रहेकाले ढुवानी लागत बढ्दा त्यसको प्रत्यक्ष असर मूल्यमा परेको बताए । ‘भारतमा नै आलु र प्याज महँगिएको छ । अर्कातिर मुडे, जिरी र सल्यानबाट महँगो ढुवानी लागतमा आलु ल्याइरहेका छौँ,’ उनले भने ।
उनका अनुसार सडकको असुविधाका कारण करिब २० प्रतिशत आलु र प्याज मागअनुसार आपूर्ति गर्नसमेत सकिएको छैन । त्यस्तै, हरियो तरकारीको आपूर्तिमा पनि ढुवानीकै समस्या रहेको र अहिले उत्पादन घटेकाले बजारमा मूल्य बढेको उनले बताए । ‘चाडपर्वका वेला खपत बढ्छ, तर अहिले हरियो तरकारीको उत्पादनमा केही ह्रास आएको छ । जसका कारण मूल्यमा चाप परेको हो,’ उनले दाबी गरे ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा नाका ठप्प भएको छ भने तातोपानी नाका पनि पहिरोका कारण अवरुद्ध छ । चीनसँगका प्रमुख दुई व्यापारिक नाका बन्द हुँदा फलफूल आयात प्रभावित भएको थोक फलफूल व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताए । ‘नेपाली बजारमा चिनियाँ फलफूलको ठुलो हिस्सा छ । तर, भोटेकोशी नदीमा बाढी आएयता फलफूल आयात हुन सकेको छैन,’ उनले भने, ‘कोरला नाकाबाट ल्याउँदा ढुवानी लागत १० गुणा बढेको छ ।’
उनका अनुसार एउटा चिनियाँ कन्टेनरबराबर नेपालमा तीन कन्टेनर सामान आउने गरेको छ । रसुवादेखि काठमाडौंसम्म एउटा कन्टेनरको भाडा १ लाख २० हजार रुपैयाँ पर्नेमा कोरलाबाट ल्याउँदा १२ लाख ४५ हजार रुपैयाँसम्म पर्ने उनले बताए । ‘नेपालले कोरला नाकाबाट सामान ल्याएर बिक्री गर्न सक्दैन भन्ने पुष्टि भइसकेको छ,’ उनले भने, ‘अहिले फलफूलको मूल्य अकासिनुको एउटा कारण यही हो ।’ उनले मुस्ताङका किसानले समेत काठमाडौंमा फलफूलको अभाव भएको मौका छोपेर मूल्य बढाएको गुनासो गरे । बजारको मागअनुसार अहिले फलफूलको आपूर्ति न्यून रहेको उनको भनाइ छ ।
भोटेकोशी बाढीले फलफूल बोकेका कन्टेनर बगाएपछि अहिले उपत्यकामा आपूर्ति कमजोर भएको थोक बानियाँले बताए । ‘धेरै व्यवसायीको फलफूल कन्टेनरमै कुहियो । कोरला नाकाबाट ल्याउँदा ढुवानी धेरै छ । अहिले बजारमा उपभोक्ताले सबैभन्दा बढी रुचाएको फुजी स्याउको आपूर्ति कमजोर छ । भारतको सिमलाबाट आउने स्याउको आपूर्ति ठिकठाकै भए पनि मूल्यमा चाप परेको छ,’ उनले भने । बाढीअघि प्रतिकिलो २५० रुपैयाँ रहेको फुजी स्याउ अहिले ३४० रुपैयाँ पुगेको छ । त्यस्तै, भारतको सिमलाको स्याउ पनि प्रतिकिलो २५० रुपैयाँबाट बढेर ३२० रुपैयाँ पुगेको छ । केराको मूल्य प्रतिदर्जन २०० रुपैयाँ पुगेको छ ।
अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतीराम सापकोटाले मूल्य नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिइरहेको बताए । उनका अनुसार अहिले दैनिक १० टोली उपत्यकाका विभिन्न स्थानमा नियमित बजार अनुगमनमा खटिएका छन् । तर, बजार मूल्यमा भने प्रत्यक्ष हस्तक्षेप गर्ने अवस्था नरहेको उनले बताए ।
‘२० प्रतिशतभन्दा बढी नाफा राखेर मूल्य लिएको पाइए कारबाही गर्ने कानुनी व्यवस्था अहिले छैन । उक्त व्यवस्था हटेपछि बिक्रेताले तोकेकै मूल्यलाई अन्तिम मूल्य मान्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसैले हामीले मूल्यसूची टाँस्न र एमआरपीभन्दा बढीमा वस्तु तथा सेवा बिक्री नगर्न कडाइ गर्दै आएका छौँ ।’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराँतीले पनि मूल्य नियन्त्रण गर्ने स्पष्ट कानुनी व्यवस्था नभएकाले अनुगमन निरीक्षकको अधिकार सीमित रहेको बताए । ‘अहिलेको कानुनी व्यवस्थामा हामी मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा छैनौँ,’ उनले भने, ‘यद्यपि, व्यवसायीसँग छलफल गरेर जथाभावी मूल्य नतोक्न आग्रह गरिरहेका छौँ ।’
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले व्यवसायीहरूले कृत्रिम मूल्यवृद्धि गरेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको बताए । ‘जुनसुकै वस्तुको भाउ अनियन्त्रित बढेको छ । सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका पनि छैन,’ उनले भने, ‘यस्तो मूल्यवृद्धिबारे जानकारी हुँदाहुँदै पनि सरकारले नियन्त्रणका लागि पहल नगर्नु भनेको गैरजिम्मेवारपन हो । व्यवसायीले पनि अहिलेको विषम परिस्थितिमा नाफाको व्यापार गर्न खोजेर गैरव्यावसायिक चरित्र देखाइरहेका छन् ।’
अन्डाको भाउ साउनमा चारपटक र भदौमा दुईपटक बढाइयो बर्डफ्लु संक्रमणका कारण घटेको अन्डाको मूल्य अहिले पुनः उकालो लागिरहेको छ । चैतमा बर्डफ्लु सुरु हुनुअघि नेपाल लेयर्स कुखुरा पालक संघले प्रतिक्रेट (३० वटा) अन्डाको मूल्य ५ सय ३५ रुपैयाँ निर्धारण गरेको थियो । तर, बर्डफ्लु संक्रमण बढ्दै गएपछि खपत न्यून हुँदा मूल्य घटेर ४ सय ७५ रुपैयाँसम्म कायम गरिएको थियो ।
बर्डफ्लु संक्रमण हटेपछि भने माग बढे पनि उत्पादनमा सुधार नआएकाले अन्डाको मूल्यमा चाप परेको संघले जनाएको छ । साउनमा चारपटक र भदौमा दुईपटक मूल्य बढाएर अन्डाको भाउ प्रतिक्रेट ६ सय ५ रुपैयाँ पुर्याइएको छ । संघका अनुसार ५ साउनमा ५ सय २५, १२ साउनमा ५ सय ४५, २५ साउनमा ५ सय ६० र २९ साउनमा ५ सय ७५ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । त्यसपछि ६ भदौमा ५ सय ९० र १८ भदौमा ६ सय ५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
संघका अध्यक्ष विनोद पोखरेलले बर्डफ्लुका कारण धेरै कुखुरा मरेको र किसानले फार्ममा नयाँ उत्पादन सुरु गर्न ढिलाइ गरेकाले उत्पादनमा असर परेको बताए । तर, उपभोक्ता मूल्यमा भने ठुलो असर पर्न नदिइएको उनको दाबी छ । संघले अन्डाको बढ्दो मूल्य र बजार व्यवस्थापनका विषयमा छलफल गर्न मंगलबार दिउँसो बैठक बोलाएको छ । बैठकमा मूल्य समायोजनका विषयमा निर्णय हुन सक्ने बताइएको छ ।
चिनी किलोको १४० पुग्यो, बजारमा अभाव
गोंगबुमा खाद्य किराना पसल चलाइरहेका चन्द्र थापाले नियमित ल्याइरहेको थोक गोदाममा चिनी नपाइएको बताए । ‘थोक गोदाममा चिनी छैन भन्ने जवाफ आएपछि करिब दुई सातासम्म पसलमा चिनी नै राखिनँ,’ उनले भने, ‘उपभोक्ताको चर्को माग थेग्न नसकेपछि साल्ट ट्रेडिङबाट एक बोरा ल्याएको छु ।’ साल्ट ट्रेडिङबाट उनले किलोको १०५ रुपैयाँमा खरिद गरेका थिए । त्यसमा ढुवानी खर्च जोडेर बिक्री गरिरहेको उनले बताए । बजारमा चिनीको मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म छ ।
खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त प्रधानले हरेक वर्ष चाडपर्वको समयमा चिनी आपूर्ति सहज हुने गरेकामा यसपटक भने अभाव देखिएको बताए । ‘अहिले भारतबाट चिनी निर्यात बन्द छ,’ उनले भने, ‘स्वदेशी चिनी उद्योगका गोदाममा पर्याप्त मौज्दात छैन भन्ने कुरा आएकाले मागअनुसार आपूर्ति हुन सकेको छैन ।’
चिनीको आपूर्ति असहज हुन थालेपछि मूल्यमा पनि ठुलो अन्तर देखिएको छ । साउनको पहिलो साता प्रतिकिलो ९५ रुपैयाँ रहेको खुद्रा मूल्य त्यसपछि बढेर एक सय एक रुपैयाँ पुगेको थियो । लगत्तै १०५ र ११० रुपैयाँ पुगेको एक खुद्रा विक्रेताले बताए ।
खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले पनि बजारमा चिनीको अभाव भएको र उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिएको बताए । ‘चाडपर्वका वेला विगतमा जस्तै अहिले पनि थोक बजारमा चिनी छैन,’ उनले भने । उनका अनुसार भारतले चैतदेखि नै चिनी निर्यातमा आंशिक रोकावट गर्ने नीति लिएकामा १६ जेठदेखि भने पूर्ण प्रतिबन्ध कायम गरेको छ, जसका कारण चिनी आउन सकेको छैन ।
तर, साल्ट ट्रेडिङ र खाद्य कम्पनीले मन्त्रिपरिषद्को स्वीकृतिमा २५ हजार टन चिनी एक प्रतिशत भन्सार सहुलियतमा आयात गर्न अनुमति पाएका छन् । कूटनीतिक पहलमार्फत भारतीय व्यवसायीबाट चिनी खरिदको प्रक्रिया पनि अघि बढाइएको छ ।
nayapatrika.com