पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नंं ५ निवासी ब्लड क्यान्सर रोगबाट पिडित महिलाको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ । स्थानीय समाजसेवी मोहराज शर्माकी धर्मपत्नी दमन्ती शर्मा (पार्वती) विगत करिब तीन महिनादेखि गम्भीर बिरामी भई जीवन–मृत्युको कठोर सङ्घर्षमा रहनु भएकोले उहाँको उपचारका लागि ठुलो धनराशी आवश्यक पर्ने भएकोले आर्थिक सहयोग गरिदिन अपिल गरिएको हो । उपचारका क्रममा उहाँलाई ब्लड क्यान्सर भएको पुष्टि भएसँगै हाल उहाँ बि.पी. मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा निरन्तर उपचाररत हुनुहुन्छ । उपचार प्रक्रिया लामो, जटिल तथा अत्यन्तै खर्चिलो भएकाले हालसम्म लाखौँ रुपैयाँ खर्च भइसकेको छ। दिनप्रतिदिन बढ्दो उपचार खर्चले परिवारलाई ठूलो आर्थिक र मानसिक संकटमा पारेको छ । यस अत्यन्त कठिन घडीमा मानवीय नाताको भावनासहित दाजुभाइ, दिदीबहिनी तथा सहयोगी मन भएका सबै महानुभावहरूसँग उहाँको थप उपचारका लागि सहयोगको हार्दिक अपिल गरिएको छ । सवैको सानो सहयोगले पनि एक आमाको अमूल्य जीवन जोगाउन र एउटा परिवारमा पुनः आशा र उज्यालो फर्काउन ठूलो योगदान पुर्याउने भएकाले परिवारसँगै विभिन्न संघ संस्थाले समेत अपिल गरेका हुन् ।