प्रमुख समाचार

चाडपर्व नजिकिएसँगै पर्वतको फलेवासमा सवारी जाँच अभियान तीव्र, ट्राफिक प्रहरिले सक्रियता बढायो

By लोकतन्त्र अनलाईन

September 12, 2026

रामचन्द्र भुसाल, फलेवास। चडपर्व नजिकिँदै गर्दा पर्वतको फलेवासमा सवारी चेकजाँच अभियानलाई तीव्रता दिन थालिएको छ । हिन्दु नेपाली महिला दिदिबहिनीहरुको महान चाड हरितालिका तीज लगायतका चाडपर्व नजिकिँदै गर्दा यात्रुको चाप बढ्ने र सवारी साधनमा क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने क्रम बढ्न सक्ने भन्दै पर्वतको फलेवासमा सवारी जाँच अभियानलाई तीव्रता दिन थालिएको हो । फलेवास नगरपालिका वडा नम्बर ६ अन्र्तगत पर्ने प्रहरी चौकी देविस्थानको निगरानीमा सवारी साधन जाँच गर्न थालिएको बताईएको छ । प्रहरी चौकी देविस्थानका इन्चार्ज प्रहरी सहायक निरीक्षक उत्तम अर्मजा मगरको कमान्डमा सञ्चालन भइरहेको जाँचका क्रममा ट्राफिक प्रहरी खड्कराज बि.क. सहितको टोलीले सवारी साधनको अवस्था, आवश्यक कागजपत्र तथा क्षमताअनुसार सामान र यात्रु बोकिएको छ कि छैन भन्ने विषयमा निगरानी गरिरहेको छ । चाडपर्वका समयमा मानिसको आवतजावत र सवारी साधनको चाप बढ्ने भएकाले क्षमताभन्दा बढी यात्रु तथा सामान राख्ने, आवश्यक कागजपत्रबिना सवारीसाधन चलाउने लगायतका गतिविधि बढ्न सक्ने र त्यसले सवारी दुर्घटनाको जोखिम बढाउने भएकाले नियमित तथा विशेष सवारी जाँचलाई प्राथमिकता दिइएको प्रहरीको भनाइ छ । सवारी दुर्घटना न्यूनीकरणसँगै यात्रुको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले सवारी चालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सवारीको क्षमताअनुसार मात्र यात्रु तथा सामान बोक्न र आवश्यक कागजपत्र साथमा राख्न प्रहरीले आग्रह गरेको छ । चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन चालक, यात्रु तथा सवारीधनी सबैले जिम्मेवार भएर ट्राफिक नियम पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।