प्रमुख समाचार

एमाले पर्वतका संस्थापक नेता गणेश शर्मा पौडेलको प्रथम स्मृति सभा सम्पन्न

By लोकतन्त्र अनलाईन

July 12, 2026

पर्वत– एमाले पर्वतका संस्थापक नेता स्वर्गिय गणेश शर्मा पौडेलको प्रथम स्मृति सभा सम्पन्न भएको छ । स्मृति दिवसको अवसरमा कुश्मा नगरपालिका वडा नं. १० पिपलटारी स्थित उहाँकै निजि निवासमा आयोजित एक समारोहमा दिवंगत नेता शर्माको राजनीतिक, सामाजिक, शैक्षिक र जिल्लाको विकास निर्माणमा पुर्‍याएको योगदानको गहन रुपमा चर्चा परिचर्चा गरिएको छ । शर्माले जिल्लाको शैक्षिक उन्नयनमा ठुलो योगदान पुर्‍याउनुभएको थियो भने युवाहरुलाई राजनीतितर्फ आकर्षित गर्नुका साथै जातिय विभेद अन्त्यका लागि समेत स्मरणीय कामहरु गर्नुभएको एमाले युवा नेता पदमपाणी शर्माले जानकारी दिनुभयो ।

स्मृति सभाको अवसरमा पैंयू गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले स्थानीय पुर्णेश्वर उच्च माविलाई रु. ५० हजार एक सय ५ रुपैया आर्थिक सहयोग समेत गर्नुभएको छ । उक्त विद्यालयका संस्थापक, पुर्व प्रद्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहनुभएका पौडेलको स्मृति सभाकै अवसरमा आफुले विद्यालयको स्वर्ण महोत्सवमा प्रतिवद्धता गरे अनुरुपको रकम हस्तान्तरण गरेको रानाले बताउनुभयो । कार्यक्रममा एमालेका नेताहरु मेघनाथ सुवेदी, गोबिन्द पहाडी, पदमपाणी शर्मा, खुमप्रसाद सुवेदी, सुवासचन्द्र पौडेल, किशोर सापकोटा, महेन्द्र श्रेष्ठ लगायत जनप्रतिनिधि, शैक्षिक एवम् सामाजिक व्यक्तित्वहरुको बाक्लो सहभागिता रहेको थियो ।