प्रधानमन्त्रीज्यू कालो चस्मा लगाएर हिँड्नुहुन्छ रे। चस्मा कालो हुनुमा मेरो आपत्ति छैन। समस्या त त्यतिबेला हुन्छ, जब चस्मा मात्रै होइन, सरकारको दृष्टि नै कालो हुन्छ—जनताको समस्या देखिँदैन ।
सायद यही हो कालो युग ।
कालो युग भनेको सबैले कालो कपडा लगाउने युग होइन। कालो युग भनेको ग्यासका लागि लाइन बस्ने नागरिक नदेखिने युग हो। पेट्रोलका लागि घण्टौँ लाइन बस्दा सरकारको ध्यान नजाने युग हो। अस्पतालमा बिरामी लाइनमा बसिरहँदा पनि “व्यवस्था हुँदैछ” भन्ने युग हो। अनि सबैभन्दा रमाइलो कुरा—सरकारले हरेक समस्यामा “हुन्छ, हुन्छ” भन्छ, तर जनताले खोज्दा सरकार नै “गायब, गायब” हुन्छ।
प्रधानमन्त्री बालेन साहले नयाँ नेपाल बनाउने धेरै कुरा गर्नुभयो। तर प्रश्न सरल छ—नयाँ के बन्यो?
सरकार नयाँ भयो, प्रधानमन्त्री नयाँ भए, अनुहार नयाँ भए। तर जनताको समस्या? उही।
पहिले प्रचण्ड—ठूला भाषण र ठूला परिवर्तनका कुरा। त्यसपछि देउवा—आफ्नै शैलीको सत्ता राजनीति। अहिले बालेन—नयाँ आशा, नयाँ अनुहार, नयाँ भाषाशैली। तर नागरिकको जीवनले सोधिरहेको छ—“दाइ, सरकार फेरियो कि हाम्रो समस्या पनि फेरियो?”
शिक्षामा हेर्नुस्। विद्यार्थीले राम्रो GPA ल्याउँछ, डिग्री लिन्छ, तर अन्तिममा उसको हातमा किताबभन्दा पहिले पासपोर्ट देखिन्छ। देशले उत्पादन गरेको प्रतिभा देशमै अडिन सक्ने वातावरण छैन। शिक्षक आफैँ आफ्नो भविष्य खोज्दैछन्। अनि हामी शिक्षा सुधार भएको भाषण गर्छौँ। विद्यालयमा बेड, कलेजमा बेड, रोजगारीमा बेड—तर विदेश जाने लाइनमा फुल बेड!
स्वास्थ्यमा त झन् कालो चस्मा खोल्नैपर्ने अवस्था छ। बिरामी अस्पताल पुग्छ, सरकारी अस्पतालमा लाइन; निजी अस्पताल पुग्छ, बिलको लाइन। स्वास्थ्य बीमा गर्यो, तर सेवा नै घट्दै जाने अवस्था आयो। बीमाको OPD सुविधा घटाएर रु. १ लाखबाट रु. २५ हजारमा झारियो, निजी अस्पतालमा गैर-आकस्मिक सेवा पनि रोकियो।
अब प्रश्न—बीमा जनताको उपचारका लागि हो कि सरकारको खर्च घटाउनका लागि?
जनताले पैसा तिरेर बीमा गर्छन्। बिरामी भएपछि सेवा खोज्छन्। अनि सरकारले भन्छ—“अहिले अलि गाह्रो छ।” बिरामीले पनि भन्न सक्छ नि—“सरकारज्यू, हामीलाई पनि अलि गाह्रो छ।”
ग्यासको लाइन देखिन्छ। पेट्रोलको लाइन देखिन्छ। अस्पतालको लाइन देखिन्छ। सरकारी कार्यालयको लाइन देखिन्छ। रोजगारीको लाइन देखिन्छ। अनि हामी भन्छौँ—नेपाल डिजिटल हुँदैछ।
हो, डिजिटल हुँदैछ।
अनलाइन फारम भरिन्छ। अनि त्यसको प्रिन्ट बोकेर लाइनमा बसिन्छ।
वाह! प्रविधिको चरम विकास!
एक्काइसौँ शताब्दीमा संसार AI, रोबोट र विद्युतीय गाडीको कुरा गरिरहेको छ। हामी भने “ग्यास आयो कि आएन?” भनेर फोन गर्दैछौँ। संसारले नागरिकको समय बचाउन प्रविधि बनाइरहेको छ, हामी नागरिकको समय बचाउन लाइनलाई व्यवस्थित बनाइरहेका छौँ।
सरकारले जनताको पीडा नबुझेको हो कि बुझेर पनि नबुझेको जस्तो गरेको हो—यो प्रश्न अब गम्भीर हुँदै गएको छ।
प्रधानमन्त्रीज्यू, तपाईंले सबै समस्या एकै दिन समाधान गर्नुपर्दैन। तर समस्या देख्न तुपर्छ।
जनता ग्यासको लाइनमा छन् भने बाहिर निस्केर हेर्नुस्।
अस्पतालमा बिरामी लाइनमा छन् भने अस्पताल पुगेर हेर्नुस्।
विद्यार्थी विदेश जाने तयारीमा छन् भने उनीहरूको कारण सोध्नुस्।
शिक्षक बस्न चाहँदैनन् भने किन बस्न चाहँदैनन् सोध्नुस्।
सरकारी कार्यालयमा नागरिक दिनभर कुरिरहेका छन् भने एउटा दिन नागरिक बनेर लाइनमा बस्नुस्।
सायद त्यसपछि कालो चस्माभित्रबाट पनि देश अलि स्पष्ट देखिएला।
हामीलाई प्रधानमन्त्रीको चस्माको रंगसँग समस्या छैन।
समस्या यति हो—चस्मा कालो भए पनि दृष्टि कालो नहोस्।
किनकि देशमा कालो युग त्यतिबेला सुरु हुन्छ, जब सरकारलाई जनता देखिन छोड्छन्।
र अहिले सबैभन्दा ठूलो डर यही हो—
कतै हामी कलियुगमा होइन, सरकारलाई जनताको दुःख नदेखिने “कालो युग” मै त प्रवेश गरिरहेका छैनौँ?