प्रमुख समाचार

जलजला–८ फर्सेका बाढीपीडित ३४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

By लोकतन्त्र अनलाईन

October 10, 2026

रामचन्द्र भुसाल पर्बत-  कालीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित पर्वतको जलजला गाउँपालिका–८, फर्सेका ३४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। रिड नेपालको आर्थिक सहयोग तथा पर्वतको फलेवास नगरपालिका–५, खानीगाउँस्थित मोती सामुदायिक पुस्तकालयको व्यवस्थापनमा शुक्रबार शिव माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई राहतस्वरूप शैक्षिक सामग्री प्रदान गरिएको हो। गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले फर्सेस्थित नदीकिनारका ३० भन्दा बढी घरगोठ बगाउनुका साथै १०० भन्दा बढी परिवारलाई विस्थापित बनाएको थियो। बाढीबाट प्रभावित परिवारका शिव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको पुस्तकालयका वरिष्ठ लाइब्रेरियन इन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो। विद्यार्थीलाई कापी, कलम, पेन्सिल, ज्यामितीय सामग्री, स्विटर र झोलालगायत शैक्षिक सामग्री वितरण गरिएको सापकोटाले बताउनुभयो। सामाजिक संस्थाका रूपमा रहेको पुस्तकालयले विपद्बाट प्रभावित बालबालिकालाई केही भए पनि राहत पुर्‍याउने उद्देश्यले पुस्तकालयका संस्थापक अध्यक्ष तथा समाजसेवी भोलानाथ लम्सालको पहलमा उपलब्ध सामग्री वितरण गरेको उहाँले जानकारी दिनुभयो। बाढीबाट प्रभावित विद्यार्थीले घटनाले पारेको असरबारे आफ्ना अनुभव सुनाउँदै आफूहरू अझै पनि त्रासमा रहेको बताएका थिए। बाढीका कारण उत्पन्न समस्याले पठनपाठन र दैनिक जीवनमा समेत असर परेको उनीहरूको भनाइ थियो। कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्री, मोती सामुदायिक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्मा, फलेवास नगरपालिकाका सामाजिक विकास समिति संयोजक नारायणप्रसाद लामिछाने, जलजला गाउँपालिकाका शिक्षा अधिकृत टंकनाथ पौडेल, पुस्तकालयका उपाध्यक्ष पूर्णप्रसाद सापकोटालगायतको उपस्थिति थियो। कार्यक्रममा पुस्तकालयका कर्मचारी, पत्रकार, विद्यालयका पूर्वप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत सहभागी थिए। आफ्नो विद्यालयमा अध्ययनरत बाढीपीडित विद्यार्थीलाई विद्यालयमै उपस्थित भइ शैक्षिक सामग्री उपलब्ध गराएकोमा प्रधानाध्यापक अमृतप्रसाद सापकोटाले सहयोगी संस्था तथा सहयोगमा संलग्न सबैप्रति आभार व्यक्त गर्नुभयो। विपद्का बेला प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबीच सहकार्य र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।