पर्वत, असोज २३ गते । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १७ लाखभन्दा बढी रकम हस्तान्तरण गरेको छ ।
नगरपालिकाबाट पारिश्रमिक तथा सुविधा प्राप्त गर्ने ७१ जना जनप्रतिनिधि र २२९ जना कर्मचारीको तलब तथा सुविधाबाट कट्टा गरिएको कुल रु. १७ लाख १३ हजार ६७३ रुपैयाँ ७० पैसा कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो ।
कुश्मा नगरपालिकाले २०८३ भदौ १८ गते गरेको निर्णय तथा जारी विज्ञप्तिबमोजिम जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिक तथा सुविधाबाट उक्त रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने व्यवस्था मिलाएको हो ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको राहत, उद्धार र पुनर्निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीको तलब तथा सुविधाबाट रकम कट्टा गरी कोषमा पठाइएको नगरपालिकाले जनाएको छ ।
विपद्का बेला जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिकबाट रकम कट्टा गरी सहयोग गर्नुले प्रभावित नागरिकको राहत तथा पुनर्निर्माण कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।