प्रमुख समाचार

पर्वतका पशुपंक्षी बधस्थल अब्यवस्थित र दुर्गन्धित, सुधार गर्न निर्देशन

By लोकतन्त्र अनलाईन

August 09, 2026

पर्वत– पर्वत सदरमुकाम कुश्मा क्षेत्रमा सञ्चालित पशु–पंक्षी वधस्थल अव्यवस्थित र मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ । उपभोक्ताहरूको निरन्तर गुनासो बढेपछि सरोकारवाला निकायले गरेको आकस्मिक अनुगमनका क्रममा बधस्थलहरुमा दर्ता नगरिएको, सरसफाईमा लापरबाही गरिएको तथा अब्यवस्थित रुपमा संचालन गरेको पाईएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा गरिएको अनुगमनमा वधस्थलहरु तत्काल सुधार गर्न तथा मापदण्ड विपरित संचालन गरिएकाहरुलाई बन्द गर्न निर्देशन दिईएको हो । अनुगमनका क्रममा कुश्मा नगरपालिका वडा नं. २ अर्मादीमा संचालित ‘जेबी मासु बिक्री केन्द्र’ले कुनै दर्ता बिना नै लुकीछिपी र अत्यन्तै अव्यवस्थित रूपमा ठूला पशु चौपाय वध गरी मासु बिक्री वितरण गरिरहेको भेटिएको छ । बिना दर्ता उद्योग चलाएको पाइएपछि सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले उक्त वधस्थल तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । यस्तै, बजार क्षेत्रका पंक्षी वधस्थलहरूमा पनि न्यूनतम सरसफाइ समेत नगरेको पाइएको छ । कुश्मा–४ मा रहेको ‘वसेल पशु वधस्थल’लाई पशु चौपायाको हड्डी व्यवस्थापन गर्न तथा ’मनकामना ड्रेसिङ एण्ड फ्रेस हाउस’ र कुश्मा–५ को ’प्रधान कुखुरा फर्म तथा ड्रेसिङ हल’लाई तत्काल पूर्ण सरसफाइ गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख सुरेश कुमार श्रेष्ठले उपभोक्ताको गुनासो आएपछि बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउन अनुगमनलाई तीव्रता दिइएको बताउनुभयो । अनुगमनका क्रममा कुश्मा–७ मा सञ्चालित ‘मोदी काली डेरी उद्योग’लाई नविकरण गरेर संचालन गर्न निर्देशन दिईएको हो । गण्डकी प्रदेश निर्देशनालय मार्फत १० लाख रुपैयाँ अनुदान सहयोगमा उपलब्ध गराइएका चिलिङ भ्याट र दूध प्याकिङ मेसिन जस्ता अत्यावश्यक उपकरणहरू उक्त डेरीमा फेला नपरेको अनुगमन टोलीले जनाएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका संवेदनशील व्यवसायहरू दर्ता नै नगरी सञ्चालन हुनु, बजारमा अस्वस्थकर मासुको बिक्री बढ्नु र सरकारी अनुदानको चरम दुरुपयोग हुनुले पर्वतमा नियमनकारी निकायको फितलो उपस्थिति र व्यवसायीको लापरबाहीलाई छताछुल्ल पारेको उपभोक्ता मन्च पर्वतका अध्यक्ष सरिता भण्डारीले बताउनुभयो । पटक पटक अनुगमन गर्दा पनि सुधार नगर्ने मासु पुसल, बधस्थल संचालकहरुलाई आवश्यक जरिवाना गर्नुपर्ने टोलीको निष्कर्ष रहेको छ । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल, एकीकृत विकास कार्यालय, उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मन्च, कुश्मा नगरपालिका, प्रहरी तथा पत्रकारको सहभागिता रहेको थियो ।