प्रमुख समाचार

श्रमदान गरेर ऐतिहासिक चौतारी पुर्ननिर्माण गर्दै कुश्माका युवाहरु

By लोकतन्त्र अनलाईन

January 09, 2026

यज्ञप्रसाद शर्मा   

पर्वत  २५ पुस : पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमी लगायतका कारणले ऐेतिहासिक चौतारी र बर, पिपलका रुखहरु मासिँदै जान थालेका छन् ।

तर पर्वतका सक्रिय युवाहरुले ऐतिहासिक तथा धार्मिक महत्व बोकेका चौतारीहरु पुर्ननिर्माणमा सक्रिय भएका छन् । पर्वत सदरमुकाम कुश्माको सवैभन्दा पुरानो क्लवब पर्वत मिलन क्वलमा आवद्ध युवाहरुले सदरमुकाम आसपासमा रहेका पोखरीहरु पुर्ननिर्माण गर्न थालेका हुन् ।

वि.सं. २०४६ सालमा औपचारिक रूपमा संस्था दर्ता भएको क्लबले विशेषतः युवा जनशक्तिलाई खेलकुद, सांस्कृतिक तथा समाज सेवामा जुटाउँदै युवायुवतीहरूमा सकारात्मक भावना पैदा गराउँदै उनीहरूमा ‘समाज र देशमा लागि केही गर्नुपर्छ’ भन्ने भावनाको डोरीमा बाँध्न सफल भएको छ ।

सानो जिल्लामा स्थापना भएको अग्रणी संस्थाले सामाजिक कार्य अन्तर्गत बाटो, पुल, कुलो, धारा, निर्माण आफूहरूले प्राप्त गर्ने सहयोग तथा आफै पनि उठाइ निर्माण गर्दै आएको छ । विगतका वर्षहरूमा पनि सांस्कृतिक कार्यक्रम तथा देउसी भैलो खेलेर संकलन भएको रकम विद्यालयको शैक्षिक सुधारका लागि दिँदै आएको संस्थाका संस्थापक सल्लाकार विष्णु प्रसाद नेवारले बताउनुभयो ।

क्लबले कुश्मा नगरपालिका–६ स्थित शिवालय माध्यमिक विद्यालयको परिसरमा रहेको चौतारीलाई विद्यालयको अनुमतिमा खुल्ला गरी स्थानीय वडाको उपस्थितिमा आम भेला मार्फत पुननिर्माणको काम गरिरहेको छ । कुश्मा नगरपालिका– ६ का वडाध्यक्ष एवं कुश्मा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीले क्लबले चौतारीको पुनर्निर्माण कार्य गरेकोमा धन्यवाद दिँदै आफूहरू पनि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

‘शिवालय भण्डारी मिलन चौतारी’ नामकरण गरिएको यो चौतारी धेरै वर्ष पहिला कुश्मामा स्थायी रूपमा बसोबास गर्ने भण्डारीहरूको पुर्खाद्वारा निर्माण गरिएको काश्यप गोत्रिय भण्डारी समिति एवं शिवालय बगैँचा शैक्षिक समाज (भूपू विद्यार्थी शिवालय मा.वि.) का अध्यक्ष दीपेन्द्र बहादुर भण्डारीले बताउनुभयो । विगतमा विद्यालय परिसरभित्र रहेकोले सबैको सहज पहुँचमा थिएन । हाल विद्यालय र स्थानीयहरूको समन्वयमा चौतारी खुल्ला गराइ पुनर्निर्माण भइरहेकोमा क्लब र विद्यालयप्रति उहाँले धन्यवाद दिनुभयो ।

विगतमा पुर्खाहरूले धार्मिक दृष्टिकोणमा आम मानिस विशेष गरी बटुवाहरूको सही व्यवस्थापनका लागि धारा, पाटी, पौवा र चौतारीहरूको निर्माण गरेको पाइन्छ । ‘खान पुगोस्, दीन पुगोस्‌’ भन्ने मान्यताका साथ यो लोकमा गरिएका पुण्यका कामले परलोकमा मुक्ति मिल्ने विश्वासका साथ निर्माण गरिन्थे । आज पनि धार्मिक तथा सामाजिक दृष्टिकोणबाट निर्माण तथा पुननिर्माणका कामहरू हुने गरेका छन् । ‘हामीले धार्मिक तथा सामाजिक रूपमा सबैको सहमतिमा आफैँ लगानी जुटाउने गरी यो कार्यको शुभारम्भ गरेका छौँ ।

यो हाम्रो टोल छिमेकमा रहेको बर र पिपलको चौतारीलाई सुन्दर स्वरूपमा परिणत गर्ने छौँ ।’ निर्माण समितिका संयोजक बुद्धि बहादुर गुरुङले भन्नुभयो । आर्थिक समिति संयोजक साजन कुमार श्रेष्ठले सबैले स्वतस्फूर्त रूपमा आर्थिक सहयोग दिएको बताउनुभयो ।

श्रमदानलाई उच्च प्राथमिकतामा राखी कार्य प्रारम्भ गरिएको चौतारी पुननिर्माणको कार्यले ज्येष्ठ नागरिक, बटुवा तथा शीतलता खोज्ने हरेकको बसाइको केन्द्र बन्ने भएको छ । चौतारी निर्माणको जिम्मेवारी लिएको पर्वत मिलन क्लबका अध्यक्ष झलक बहादुर कार्कीका अनुसार टोलवासीको विशेष आग्रहमा पुनर्निर्माण कार्य चलिरहेको छ ।

अध्यक्ष कार्कीले सबैको साथ सहयोग मिल्ने विश्वासकासाथ समुदायबाट आएको आग्रहलाई स्रोतको अभाव हुँदा हुँदै पनि सबैको सहयोग प्राप्त गर्न सकिन्छ विश्वासमा काम गरिएको बताउनुभयो । आफूहरूको लक्ष्य भनेको यसलाई सुन्दर रूपमा निर्माण गरी सबैको आवश्यकता पूरा भएको महसुस हुने नै बनाउनु रहेको उहाँको भनाइ छ ।