पर्वत- नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पर्वतको प्रदेश सभा ‘क’ तर्फको पदस्थापन, शपथग्रहण सहित सम्मान र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय रहेको बि.पी स्मृतिमा भवनमा भएको कार्यक्रममा प्रदेश सभा ‘क’ बाट विभिन्न पदमा निर्वाचित भएका नेताहरूलाई शपथ ग्रहणसहित पदस्थापन गरिएको हो । जसमा कुश्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका कार्यसमितिका सभापतिहरू तीन जना र प्रदेश प्रतिनिधिहरू २६ जनालाई शपथ खुवाइएको हो । सोही कार्यक्रममा प्रदेश सभा ‘क’ तर्फका निवर्तमान कार्यसमितिका सभापतिहरू ३१ जना सभापतिहरूलाई सम्मान गरिएको छ । सोही क्रममा नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिले निवर्तमान सभापति सहित पदाधिकारीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले वर्तमान सरकारलाई जनताप्रति प्रतिबद्ध रहन अनुरोध गरे । सञ्चार गृहका अगाडि सवारी राखेर तर्साउनेदेखि विपक्षीहरूलाई पक्राउ गर्ने चर्चा चलाएर वर्तमान सरकारले तानासाह लाद्न खोजिरहेको भन्दै उनले काँग्रेसका कोही पनि व्यक्तिले भ्रष्टाचार गरेको वा अन्य गल्ती गरेको ठहर भएको अवस्थामा उनीहरूको पक्षमा काँग्रेसले नाराबाजी नगर्ने बताए ।
बिचारबाट निर्मित नेपाली काँग्रेस र त्यसका सभापति गगनकुमार थापालाई पक्राउ गर्ने भनेर ‘मिडिया ट्रायल’ गरिएको भन्दै नेता जोशीले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसको ध्यान केन्द्रित रहेको बताए । सामाजिक सञ्जालमा हेर्दा काँग्रेसमाथि प्रहार गरिरहेको देखिएको भन्दै उनले लोकतन्त्रका बिराधीहरुमाथि लाग्न वर्तमान सरकारको ध्यानाकर्षण गराए । वर्तमान सरकारमा रहेको पार्टी र नेपाली काँग्रेस पार्टी फरक भए पनि दुवै लोकतन्त्रको हिमायती दल भएको भन्दै नेता जोशीले दानबहादुर कार्कीले कसैको आदेश नमानेका कारण उनलाई यस्तो अवस्थामा राखिएको बताए ।
नेपाली काँग्रेस कसैलाई क्षति गरेर आएको नभई वर्षौँदेखि लोकतन्त्र र प्रजातन्त्रको पक्षमा लड्दै आएको उनको भनाइ छ । अबको राजनीतिमा कोहीमाथि पनि बदलाको भावना लिएर राजनीति गर्न नहुने भन्दै उनले सरकार जनताको सेवाको भावना बुझ्ने र जनताको घरदैलोमा पुग्नुपर्ने केन्द्रीय सदस्य जोशीको भनाइ छ । कर्मचारी, व्यापारी, उद्योगपति, सुकुम्वासी, कृषकसहित सबै देशवासी डराएको अवस्थामा देशले कस्तो गति लिन्छ भन्ने चिन्ता बढ्दै गइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
यस्तै, अर्का केन्द्रीय सदस्य तथा नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान गुरुङले वर्तमान सरकारले गरिरहेका गलत कामहरूको विरुद्धमा बोल्नुपर्ने बेला आएको बताए । सभापति गगनकुमार थापालाई पक्राउ गर्ने चर्चा चलेको विषयमा उनले कहिल्यै नाम नसुनेको व्यक्ति इनम सापकोटा वर्तमान प्रधानमन्त्री बालेनका सल्लाहकार रहेको दाबी गरे । नेपाली काँग्रेसलाई पहिलो दल बनाउनको लागि आगामी मङ्सिर महिनामा देशभर नै अभियान सञ्चालन हुन लागेको र त्यसमा सबैलाई सक्रियताका साथ लाग्न उनले आह्वान गरे ।
कार्यक्रममा अर्की केन्द्रीय सदस्य मुना भुसाल, प्रदेश सहमहामन्त्री रामचन्द्र जोशी, नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता काफ्ले लामिछाने, उपसभापति डाक्टर चुडामणि शर्मा, उपसभापति शिवप्रसाद सुवेदी, केन्द्रीय महाधिवेशन प्रतिनिधि अजय पोखरेल, कुश्मा नगरपालिकाका सभापति सुरेन्द्र केसी, निवर्तमान सभापति किशोर भण्डारी, नेपाली काँग्रेस जलजला गाउँपालिका ३ का सभापति कुशल जि.सी लगायतले पनि देश र युवाको चाहना अनुसार नेपाली काँग्रेसले आफूलाई परिवर्तन गरेको बताउँदै अब देशको आशातीत राजनीतिक दल पनि काँग्रेस नै भएको बताए । युवा र जनताको माग अनुसार नै परिवर्तन भएको दलले अन्ततः उनीहरूकै मुद्दाका लागि योगदान गर्ने उनीहरूको भनाइ छ । कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापतिदेखि हालैको अधिवेशनबाट विभिन्न पदमा निर्वाचित तथा अन्य पदाधिकारीहरूले पनि बोलेका थिए ।
प्रदेश सभा ‘क’ का निवर्तमान अध्यक्ष राजकुमार क्षेत्री र दोस्रो सत्रमा वर्तमान अध्यक्ष राजु प्रसाद आचार्यको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव केशव उपाध्याय र वर्तमान सचिव निर्दोष लामिछाने गरेका थिए भने स्वागत कोषाध्यक्ष चित्रकला भारतीले गरेकी थिइन् ।