पर्वत २३ साउन : पर्वतको फलेवास नगरपालिकावाट पछिल्लो एक वर्षमा चार सय ७३ जना नागरिक बसाई सराई गरेर अन्यत्र गएको पाईएको छ ।
आर्थिक वर्ष वि.सं. २०८२–०८३ मा पालिकाका विभिन्न वडाबाट चार सय ७३ जना बसाइँ सराइ गरेर अन्यत्र गएका हुन् । नगरका विभिन्न वडावाट एक सय ४२ घर परिवार आफ्नो पुर्ख्यौली थातथलो छाडेर पुर्ण रुपमा बसाई सराई गरेको प्रमुख प्रशासकिय अधिकृृत भोलाप्रसाद चापागाईले जानकारी दिनुभयो । उक्त अवधिमा २१ जना परिवारका ५३ जना नागरिक फलेवासमा फर्किएर आएका छन् । ११ वडा रहेको नगरपालिकाबाट अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पाँच सय २५ जना बसाई सरेर गएका थिए । यो खबर धौलागिरि सञ्चार साप्ताहिकबाट साभार गरिएको हो ।
नगरपालिकाको वडा नंं. ११ वाट धेरै परिवार विस्थापित भएका छन् भने सवैभन्दा थोरै बसाइँसराई वडा नंं ५ खानीगाउँवाट भएको छ । आसन्न निर्वाचनको वर्ष भएकाले पनि मताधिकार बसेको स्थानबाटै प्रयोग गर्न तथा अन्य सेवा सुविधाको लागि बाहिरिने दर बढेको नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीको अवसरको खोजीमा नगरपालिकाबाट बाहिरिनेको दर बढ्दै जान थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । नगरका पञ्जिकाधिकारी ऋषिराम शर्माका अनुसार अघिल्लो आर्थिक वर्षमा एक सय ५३ घर परिवार नगरपालिकाबाट बसाइँ सराइको प्रमाण पत्र लिएर सरेको जानकारी दिनुभयो । उहाँका अनुसार बसाईसरी जानेहरु पोखरा, काठमाण्डौ, चितवन, बुटबल, बर्दिया लगायतका स्थानमा जाने गरेका छन् ।
बैदेशिक रोजगारीका लागि युवायुवतीको पलान हुने दर बढ्नु र विभिन्न अवसरको खोजीमा गाउँ छाड्नेको संख्या बढ्दै गएपछि गाउँमा जन्मदर समेत घट्दै गएको छ । गत आर्थिक वर्षमा फलेवासमा छ सय ९४ जनाले जन्मदर्ता गराएका छन् भने दुई सय ९३ जनाले मृत्युदर्ता गराएका छन् । यसैगरी दुई सय ८६ जनाले बिबाह दर्ता गर्नुका साथै २६ जनाले सम्वन्ध विच्छेद गरेको नगपालिकाले जनाएको छ ।
बसाईसराई दर बढ्नुमा नगरमा रोजगारीको अवसर नहुनु पहिलो कारण रहेको उहाँको दावी छ । २४ हजार छ सय ७८ जनसंख्या भएको नगरपालिकाबाट वर्षेनी बसाईसराईको दर बढ्दै गएको शर्माको भनाई छ । सदरमुकाम पछिको दोस्रो नगर पालिका रहेको फलेवासमा दोस्रो कार्यकालको तेस्रो र चौथो वर्षमा बसाइँ सराइको दर बढी देखिएको नगरपालिकाले जनाएको छ । गाउँगाउँमा सिंहदरबार आएर विकास निर्माणका कामहरु धमाधम बढ्दै गएपनि बस्ती रित्तिदै जानु दुःखद पक्ष भएको स्थानीयवासी तथा पुर्व मन्त्री विकास लम्सालले बताउनुभयो । उहाँले स्थानीय सरकारले रोजगारीको सिर्जना र स्वरोजगारमुलक कार्यक्रमहरु संचालन गरी गाउँमै बस्ने र कमाउने वातावरण बनाउनुपर्ने उहाँको भनाई छ ।