पर्वत- पर्वतको पैयूँ गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाका ऋणी सदस्यहरूलाई सम्झौताअनुसार समयमै ऋण भुक्तानी गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ।
गाउँपालिकाले सोमबार जारी गरेको सूचनामा केही सहकारी संस्थामा ऋणी सदस्यहरूले लिएको ऋणको साँवा तथा ब्याज समयमै नतिर्दा संस्थाको तरलतामा समस्या उत्पन्न भएको र बचतकर्ताको बचत फिर्ता गर्न समेत कठिनाइ भइरहेको जानकारी प्राप्त भएकाले सबै ऋणी सदस्यलाई समयमै ऋण चुक्ता गर्न अनुरोध गरिएको उल्लेख गरिएको छ।
सूचनाअनुसार सहकारी संस्था सदस्यहरूको नियमित बचत र ऋण परिचालनबाट सञ्चालन हुने स्वायत्त संस्था भएकाले सदस्यले लिएको ऋण सम्झौता, शर्त तथा कबुलियतअनुसार समयमा भुक्तानी गर्नु कानुनी तथा नैतिक दायित्व हो। गाउँपालिकाले समयमै ऋण तिरेर सहकारी संस्थाको वित्तीय सुशासन, तरलता व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षणमा सहयोग गर्न सबै सदस्यलाई अपिल गरेको छ।
गाउँपालिकाले सहकारीसम्बन्धी प्रचलित कानुन तथा पैयूँ गाउँपालिकाको सहकारी ऐन, २०७५ अनुसार ऋणी सदस्यले समयमै ऋण नतिरेमा सम्बन्धित व्यक्तिको बैंक खाता, जायजेथा हस्तान्तरण, नामसारी वा बिक्रीमा रोक लगाउन सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था रहेको जनाएको छ। साथै, बाँकी ऋण असुलीका लागि सम्बन्धित सहकारी संस्थाले कानुनबमोजिम न्यायाधिकरणमा मुद्दा दायर गर्न सक्ने प्रावधानसमेत रहेको सूचनामा उल्लेख छ।
गाउँपालिकाले अनावश्यक कानुनी झन्झट, अतिरिक्त आर्थिक भार तथा कारबाहीबाट बच्न सबै ऋणी सदस्यलाई आफूले लिएको ऋण सम्झौताअनुसार सम्बन्धित सहकारी संस्थामा यथाशीघ्र भुक्तानी गर्न आग्रह गरेको छ।
पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेद्वारा हस्ताक्षरित उक्त सूचना मिति २०८३ असार २२ गते सार्वजनिक गरिएको हो।