पर्वत – महाशिला गाउँपालिका–५ का स्थानीयवासीहरूले नागरिकतालगायतका प्रशासनिक सेवा जिल्ला प्रशासन कार्यालय पर्वतबाट उपलब्ध गराउन माग गरेका छन् ।
वडाका विभिन्न टोलका स्थानीयवासीहरूले हस्ताक्षरसहितको मागपत्र वडाध्यक्ष चन्द्रबहादुर मल्ललाई बुझाउँदै हाल ईलाका प्रशासन कार्यालय हुवासबाट लिँदै आएका सेवाहरू कुश्माबाट उपलब्ध गराउन पहल गर्न आग्रह गरेका हुन् ।
स्थानीयवासीका अनुसार हुवासबाट सेवा लिन जाँदा सार्वजनिक यातायातको अभाव, भौगोलिक विकटता तथा यातायात व्यवस्थापनको असहजताका कारण सामान्य प्रशासनिक काम सम्पन्न गर्नसमेत दुईदेखि तीन दिनसम्म लाग्ने गरेको छ ।
बिहान सेवा लिन जाने क्रममा हुवासबाट कुश्मातर्फ आउने र सेवा सम्पन्न गरी फर्किने समयमा कुश्माबाट हुवासतर्फ सवारी छुट्ने व्यवस्था सहज नभएको उनीहरूको गुनासो छ ।
अधिकांश यातायातका साधन महाशिला हुँदै नभई विहादीतर्फबाट सञ्चालन हुने गरेका कारण सेवाग्राही थप समस्यामा परेको स्थानीयले बताएका छन् ।गृह मन्त्रालयले २०७४ सालमा हुवासमा ईलाका प्रशासन कार्यालय स्थापना गरेपछि महाशिला गाउँपालिका–५ लाई उक्त कार्यालयको कार्यक्षेत्रभित्र समावेश गरिएको थियो ।
त्यसयता नागरिकता लगायतका प्रशासनिक सेवा लिन स्थानीयवासी हुवास जानुपर्ने बाध्यता रहेको छ । स्थानीय भिमप्रसाद गुरुङका अनुसार नापी, मालपोत, कृषि, भेटेरिनरी, अस्पताल, सिँचाइ तथा पूर्वाधारसँग सम्बन्धित अधिकांश सेवा लिन भने कुश्मा नै पुग्नुपर्ने अवस्था छ ।
एउटै कामका लागि फरक–फरक स्थानमा धाउनुपर्दा समय र आर्थिक दुवै हिसाबले स्थानीय मारमा परेको उनको भनाइ छ । स्थानीय सुनिल थापाले नागरिकता लगायतका सेवा कुश्माबाट उपलब्ध गराउन स्थानीय तहबाट प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
उनका अनुसार वडा समितिबाट निर्णय गरी गाउँ कार्यपालिकाले समेत कुश्माबाट सेवा लिन उपयुक्त हुने निर्णय गर्नुपर्ने तथा उक्त निर्णय जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ ।
गृह मन्त्रालयले महाशिला–५ लाई जिल्ला प्रशासन कार्यालय पर्वतको कार्यक्षेत्रमा समावेश गरेपछि स्थानीयवासीहरूले कुश्माबाटै सेवा लिनसक्ने उनले बताए ।
स्थानीयवासीहरूले नागरिकता जस्ता अत्यावश्यक सेवा लिनसमेत समय र आर्थिक भार व्यहोर्नुपरेको उल्लेख गर्दै प्रशासनिक सेवा सहज, पहुँचयोग्य र व्यवस्थित बनाउन सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने माग गरेका छन् ।