प्रमुख समाचार

जलजलामा निःशुल्क वृहत् स्वास्थ्य शिविर, विशेषज्ञ सेवा गाउँमै

By लोकतन्त्र अनलाईन

May 07, 2026

पर्वत : ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै जलजला गाउँपालिकामा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा सेभ द हर्ट अभियान र मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको उक्त शिविरले स्थानीय बासिन्दालाई ठूलो राहत दिने अपेक्षा गरिएको छ । “स्वस्थ नागरिक, समृद्ध समाज” भन्ने नारासहित आयोजना गरिएको शिविरमा मुटु रोगसहित विभिन्न दीर्घरोगहरूको निःशुल्क परीक्षण तथा विशेषज्ञ परामर्श उपलब्ध गराइनेछ । ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पहुँचको कमीका कारण सामान्य परीक्षणकै लागि पनि पोखरा वा काठमाडौं धाउनुपर्ने बाध्यता रहेको अवस्थामा यस्ता शिविरले नागरिकलाई सहजता प्रदान गर्ने छ । शिविरमा मुटु सम्बन्धी समस्या, उच्च रक्तचाप (प्रेसर), कोलेस्ट्रोल, मधुमेह (सुगर), थाइराइड, दम तथा छातीसम्बन्धी रोग, पेट तथा ग्यास्ट्रिक समस्या, मृगौला रोग, हातखुट्टा सुन्निने समस्या, हाडजोर्नी तथा नसासम्बन्धी रोगहरूको निःशुल्क परीक्षण गरिनेछ । यसका साथै मुटुको भिडियो एक्स–रे, इको परीक्षण, ईसीजी सेवा तथा आवश्यक औषधि निःशुल्क वितरण गरिने गाउँपालिकाले बताएको छ । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. अनिल भट्टराई, प्रा. डा. दिव्या सिंह शाह लगायतका वरिष्ठ मुटुरोग विशेषज्ञ लगायत अन्य अनुभवी चिकित्सकहरूको टोली सहभागी रहनेछ । उनीहरूले बिरामीको अवस्था अनुसार आवश्यक परामर्श, उपचार सिफारिस तथा थप उपचारको मार्गनिर्देशन समेत दिनेछन् । ग्रामीण क्षेत्रका धेरै नागरिकहरू आर्थिक अभाव र दूरीका कारण समयमै स्वास्थ्य परीक्षण गर्नबाट वञ्चित हुँदै आएका छन् । यस्तो अवस्थामा गाउँमै विशेषज्ञ सेवा उपलब्ध हुँदा उनीहरूलाई उपचारका लागि सहर धाउनुपर्ने बाध्यता अन्त्य हुनुका साथै समय र आर्थिक दुवै क्षति कम हुने विश्वास गरिएको छ । विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा दीर्घरोगीहरूका लागि यो शिविर अत्यन्त उपयोगी हुने छ । उक्त स्वास्थ्य शिविर २०८३ साल बैशाख २६ गते शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म जलजला गाउँपालिका–४ स्थित जनसेवा आधारभूत विद्यालय, लामाखेतमा सञ्चालन हुनेछ । आयोजकले सबै सर्वसाधारणलाई यस अवसरको अधिकतम लाभ लिन अनुरोध गरेको छ ।