पर्वत, — जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन सबै सरकारी कार्यालय र स्थानीय तहसँग अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरेको छ।
नेपाल सरकार गृह मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार प्रशासनले जिल्लास्थित सबै पालिका र सम्बन्धित निकायलाई पत्राचार गर्दै आफ्नो कार्यक्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान, संरक्षण अवस्था तथा अतिक्रमण भए–नभएको यथार्थ विवरण पठाउन आग्रह गरेको हो।
प्रशासनका अनुसार अतिक्रमणमा परेका जग्गाको विवरण संकलन गरी आवश्यक समन्वयका आधारमा अतिक्रमण हटाउने योजना अघि बढाइनेछ। साथै, अतिक्रमण हटाउने कार्यमा सुरक्षा निकायको समेत परिचालन गरिने बताइएको छ।
प्राप्त विवरणका आधारमा मन्त्रालयको स्वीकृति लिएर चरणबद्ध रूपमा अतिक्रमण हटाउने, जग्गा संरक्षण गर्ने र भविष्यमा अतिक्रमण हुन नदिने गरी दीर्घकालीन व्यवस्थापन योजना लागू गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस पहलले सार्वजनिक सम्पत्तिको संरक्षण, सुशासन प्रवर्द्धन तथा विकास निर्माणका कार्यमा सहजता आउने अपेक्षा गरिएको छ। पर्वतका सातवटै पालिकामा जग्गा अतिक्रमण गरी व्यक्ति वा संस्थागत रुपमा भोगचलन गरेको पाईएको छ ।