प्रमुख समाचार

पर्वतका ९५० किशोरीलाई एचपिभि खोप लगाईदै

By लोकतन्त्र अनलाईन

February 04, 2026

पर्वत, २१ माघ : पर्वत जिल्लाका ९ सय ५० जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ ।

जिल्लाका सातवटा गाउँपालिकामा रहेका ६१ वटा वडामा रहेका एक सय २७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्षका किशोरीहरुलाई यो खोप अभियान संचालन गर्न थालिएको हो । यहि माघ २७ देखि २९ गते सम्म खोप अभियान संचालन गर्न लागिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सम्वन्धित विद्यालयमै खोप केन्द्र खडा गरी खोप लगाईने भएको छ । यस अवधिमा गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि कक्षा १० सम्म अध्ययरत किशोरी तथा विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीलाई पनि खोप दिईने भएको छ ।

पर्वतमा खोप अभियानलाई एकै चरणमा सञ्चालन गरिने भएको छ । जसका लागि एक सय २७ जना स्वास्थ्यकर्मी र एक सय २७ जना स्वंसेवक परिचालन गरिने कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो ।

महिलाहरुको शारिरीक र प्रजनन् स्वास्थ्यसँग जोडिएको एचपिभि खोपल लगाउने अभियानलाई सफल बनाउन सवैको सहयोग हुनुपर्ने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो । क्यान्सरजस्तो प्राणघातक रोगप्रति सवै सचेत र सजग हुनुपर्ने बताउँदै उहाँले कोहिपनि छुट्न नहुने बताउनुभयो । उहाँले अभियानमा छुटेकाहरुलाई थप एक साताको समय दिएर भएपनि समेट्नुपर्ने बताउनुभयो ।

जिल्ला खोप समन्वय समिति पर्वतका संयोजक विष्णुराम विकले खोप अभियान सञ्चालनको सन्दर्भमा कुनै समस्या नआओस भनेर प्रचार प्रसारलाई ब्यापक बनाउनुपर्ने बताउनुभयो । उहाँले खोपप्रतिको नकारात्मक धारणा बनाउन नहुने बताउनुभयो ।

यो सँगै जिल्लाका सातवटै पालिका र वडा स्तरमा पनि खोप अभियानको तयारी भैरहेको प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जानकारी दिएको छ । पर्वतमा गत वर्ष चार हजार सात सय ४९ जनालाई एचपिभि खोप लगाईएको थियो ।