पर्वत – पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच कार्य सुरु गरेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्देश्यसहित जलजला गाउँपालिका–३ पर्वत बेनीबाट बुधबारदेखि नापजाँच सुरु गरेको हो । समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले प्राबिधिक टोलीले ‘टोटल स्टेशन प्रबिधि’बाट जग्गा नापजाँचको काम शुरु गरेको जानकारी दिनुभयो ।
“वडा र गाउँपालिकाले प्रमाणित गरेका निवेदकहरुको जग्गाको स्थलगत नापजाँच गर्न थालिएको छ,” उहाँले भन्नुभयो “अन्य वडा र पालिकाहरुमा पनि नापजाँच गर्ने, प्रतिवेदन तयार पारि जग्गा पहिचान, कित्ताकात, सार्वजनिक जग्गालाई सरकारबाट व्यक्तिको नाममा दिन श्रेष्ता कायम गरि केन्द्रिय समितिबाट स्विकृत गराएर पालिकामै पुगेर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने कार्ययोजना बनाएका छौ ।”
Shreekrishna Gunasthariya Shiksya यसअघिका जिल्ला भूमि आयोगमा रहेका अभिलेख र निवेदनहरुका आधारमा नापचाँचको काम थालिएको हो । एक हजार ८८ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीको निवेदन स्थानीय तहबाट प्रमाणिकरण भएर समितिमा आएको नापी कार्यालय पर्वतका प्रमुख नापी अधिकृत दिनेश लामिछानेले बताउनुभयो ।
“जलजला गाउँपालिकाबाटे तीन सय ४० जनाको निवेदन प्रमाणिकरण भएर आएको छ,” उहाँले भन्नुभयो “नापजाँचसँगै समितिको कार्यादेश र क्षेत्राधिकार तथा मापदण्डको आधारमा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने तयारीलाई तिब्र बनाएका छौ ।”
नापजाँचपछि बिधी, प्रक्रिया र मापदण्ड अनुसार दिन मिल्ने जग्गा सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई उपलब्ध गराउने र नमिल्ने सार्वजनिक जग्गा खाली गरि संरक्षण गरिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
वारीबेनीका यमुना परियारले करिब तीन दशकदेखि बस्दै आएको ठाउँको जग्गाको नापजाँच भएपछि लालपुर्जा पाउने आशा पलाएको बताउनुभयो । “जग्गाधनी प्रमाणपुर्जाको आशमा निवेदन दिएको बर्षौपछि नापजाँच शुरु भएकोमा खुसी लागेको छ,” उहाँले भन्नुभयो “लालपुर्जा पाउने आशा जागेको छ ।”