पर्वत १९ जेठ : पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा गएराती भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कको वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको जिप गएराती पौने ९ बजेको समयमा अँधेरीनेटा भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी आर्थरडाँडाखर्कका वडा सदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको छ ।
टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उहाँलाई उपचारको लागि पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा जिपका चालक आर्थरडाँडाखर्ककै २७ वर्षिय बुद्धिसागर पौडेल र ४६ वर्षिय राजेन्द्र पौडेल घाइते हुनुभएको छ । उहाँहरू दुवैको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको तथा अवस्था मध्यम रहेको प्रहरी निरिक्षक पौडेलले बताउनुभयो ।
उनिहरुको पनि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यात्रुहरूलाई छोडी चालक घर फर्किने क्रममा भएको दुर्घटनामा उक्त बलेरो पिक अप जिप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको छ ।