प्रमुख समाचार

पत्रकार हत्याका दोषीलाई कारबाहीको माग गर्दै महासंघ पर्वतद्धारा ध्यानाकर्षण पत्र पेश

By लोकतन्त्र अनलाईन

March 31, 2025

पर्वत– काठमाडौंको तीनकुनेमा गत शुक्रवार भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएकोप्रति गम्भीर हुँदै नेपाल पत्रकार महासंघ पर्वतले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र पेश गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेलाई पत्र हस्तान्तरण गर्नुभएको हो ।

भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिक, कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजन, पत्रकार दिनेश गौतम र निरज तामाङमाथि भएको आक्रमणको विरुद्ध घोर निन्दा व्यक्त गर्दै दोषीलाई कडा भन्दा कडा सजायको माग गरिएको छ । पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा र सचिब साजन परियारद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न र मृतकको परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ । यस्तै सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन समेत माग गरिएको छ । ध्यानाकर्षण पत्रमा विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन समेत माग गरिएको छ । महासंघले राखेका माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण नभएमा सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने समेत महासंघले चेतावनी दिएको छ ।

सो अवसरमा प्रजिअ घिमीरेले उक्त ध्यानाकर्षण पत्र तत्काल सम्बन्धित निकायमा पेश गर्ने जानकारी दिनुभयो ।