पर्वत : झण्डै एक महिनादेखि जारी शिक्षक आन्दोलनलाई वार्ता र संवादमार्फत तत्काल टुंगोमा पुग्न नागरिक ममाज संजाल पर्वतले आग्रह गरेको छ । आन्दोलन लम्बिदै जाँदा शिक्षक र सरकार पक्षका विचमा झडप र बल प्रयोगको अवस्थामा पुगेको प्रति नागरिक समाज सञ्जाल पर्वतको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलन लम्विँदै जाँदा थप अधिकारको हनन भइरहेका परिघटनाहरु समुन्ने आइरहेका भन्दै आन्दोलनरत क्षेत्रका जनताको स्वतन्त्र आवागमन तथा यातायात व्यवसायमा समस्या समाधानका लागि पनि तत्काल निचोडमा पुग्न सञ्जालले आग्रह गरेको छ । नागरिक समाज सञ्जाल पर्वतका अध्यक्ष माधव पौडेल र सदस्य सचिब कृष्णप्रसाद शर्माद्धरा हस्ताक्षरित विज्ञप्तीमा नयाँ शैक्षिक सत्र प्रारम्भ भइसकेको अवस्थामा आन्दोलनको कारणले देशभरका करिव २८ हजार सामुदायिक विद्यालयका लगभग ७० लाख बालबालिका अध्ययनबाट बञ्चित भैरहेको तर्फ गम्भिर हुन पनि ध्यानाकर्षण गराईएको छ ।
बालबालिकाहरुको आधारभूत शिक्षाको मौलिक हक हनन भएको छ भने राष्ट्रका मेरुदण्ड र भविष्य स्वरुपमा रहेका बालबालिकामा मनोसामाजिक असर पर्ने र शैक्षिक स्तर खस्किने खतरा देखिएको विज्ञप्तीमा जनाईउको छ । बालबालिकाहरुको भविष्य र अधिकार सुरक्षित गर्न सबै प्रकारका असमझदारीहरुलाई द्वन्द्व रहित रुपमा गम्भीरतापुर्वक संवाद र समझदारीबाट हल गर्न शिक्षक र सरकार दुबै पक्षलाई सञ्जालले अनुरोध समेत गरेको छ ।
आन्दोलनरत शिक्षक महासंघलाई पनि शान्तिपूर्ण आन्दोलनमार्फत आफ्ना जायज मागहरू राख्न, आन्दोलनलाई भड्काव, उच्छृङ्खलता र हिंसाबाट टाढा राख्न र विद्यालय समेत संचालन गर्दै प्रतिनिधि मुलक रुपमा काठमाडौ केन्द्रित आन्दोलन गर्ने गरि कार्यक्रमको स्वरुपमा परिवर्तन गर्ने विकल्पमा सोच्न समेत सञ्जालको आग्रह छ ।
सरकारलाई पनि शिक्षकहरूका मागलाई उपेक्षा नगरी सबै जायज मागहरु गम्भीरताका साथ सम्बोधन गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा पञ्चायत कालिन अव्यावहारिक र जनतालाई परिवर्तनको आभास नदिने पुराना कानुन प्रतिस्थापन गरि कानुनी खाडलहरु पुर्ति गर्नका लागि गम्भीरतापूर्वक आफ्ना सबै अंग परिचालन गर्न सरकार समक्ष आग्रह समेत गरिएको छ ।