प्रमुख समाचार

पर्वतका चार हजार सात सय किशोरीलाई एचपिभि खोप लगाईदै

By लोकतन्त्र अनलाईन

January 29, 2025

पर्वत, १६ माघ : पर्वत जिल्लाका चार हजार सात सय १९ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ ।

जिल्लाका सातवटा गाउँपालिकामा रहेका ६१ वटा वडाका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिका र किशोरीलाई माघ २२ गतेदेखि फागुन २ गतेसम्म खोप अभियान संचालन गर्न लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविन शर्माका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा एक सय ९५ वटा खोप केन्द्रमार्फत खोप अभियान संचालन गर्न लागिएको हो । विद्यालयमा अध्ययनरत बालिका तथा किशोरी खोप अभियानमा सहाभागी भए पनि विद्यालय बाहिर रहेका ५२ जना बालिकालाई पनि छुट्टै व्यवस्था गरी सो अवसरमा खोप लगाइने शर्माले बताउनुभयो ।

पर्वतमा खोप अभियानलाई दुई चरणमा सञ्चालन गरिने भएको छ । पहिलो चरण अन्तर्गत माघ २२ गते देखि २७ गतेसम्म कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिकामा सम्पन्न हुने छ भने दोस्रो चरण अन्तर्गत माघ २८ गते देखि फागुन २ गतेसम्म विहादी गाउँपालिका, महाशिला गाउँपालिका र पैयू गाउँपालिकामा सञ्चालन हुने कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रकाश गौतमले जानकारी दिनुभयो ।

अभियानलाई सफल बनाउन सवैको सहयोग हुनुपर्ने प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनुभयो । क्यान्सरजस्तो प्राणघातक रोगप्रति सवै सचेत र सजग हुनुपर्ने बताउँदै उहाँले कोहिपनि छुट्न नहुने बताउनुभयो ।

जिल्ला खोप समन्वय समितिका संयोजक विष्णुराम विकले खोप अभियान सञ्चालनको सन्दर्भमा कुनै समस्या नआओस भनेर प्रचार प्रसारलाई ब्यापक बनाउनुपर्ने बताउनुभयो । उहाँले खोपप्रतिको नकारात्मक धारणा बनाउन नहुने बताउनुभयो ।

पर्वतमा संचालन हुने खोप अभियानमा एक सय पाँच खोप फोकल पर्सन, एक सय ९५ खोप स्वास्थ्यकर्मी र तीन सय ९० स्वयमसेवकहरु परिचालन गरिने भएको छ ।

यो सँगै जिल्लाका सातवटै पालिका र वडा स्तरमा पनि खोप अभियानको तयारी भैरहेको प्रदेश स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।