पर्वत –पर्वतमा महिला पत्रकार डिजिटल साक्षरता एवम् रुपान्तरणकारी नेतृत्व विकास तालिम शुरु भएको छ । नेपाल पत्रकार महासंघ पर्वतको आयोजना र सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा दुई दिने तालिम शुक्रवारदेखि शुरु भएको हो । तालिमको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन गर्दै विकले पत्रकारितामार्फत जिल्लाको विकास र परिवर्तनमा धेरै टेवा पुगेको बताउनुभयो । उहाँले दुरदुराजमा लुकेर रहेका समाचारहरुलाई आम संचारका माध्यममा प्रकाशन प्रशारण गर्नका लागि पत्रकारहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय एउटै समाचारलाई चोरी गरेर विभिन्न माध्यमवाट गलत ढंगले प्रयोग भैरहेको भन्दै विकले यसलाई पुर्ण रुपमा हटाउनुपर्ने बताउनुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेलले महिला पत्रकारहरुको क्षमता विकास र उनिहरुलाई पेशामै रहेर आत्मनिर्भर हुनका लागि यो तालिम बढि उपयोगी हुने बताउनुभयो । उहाँले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये पर्वतमा मात्र यस्तो कार्यक्रम रहेकोले यसलाई प्रभावकारी रुपमा संचालन गर्न र बढिभन्दा बढि ज्ञान हासिल गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष माया अधिकारी, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल, प्रेस यूनियन पर्वतका अध्यक्ष उत्तम अधिकारी लगायतले बोल्नुभएको थियो । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रञ्जना खत्री र संचालन सचिब साजन परियारले गर्नुभएको थियो । दुई दिन सम्म संचालन हुने तालिमको सहजीकरण नेपाल अनलाईन पत्रकार संघका पुर्व अध्यक्ष प्रवेश सुवेदीले गर्नुहुने भएको छ । तालिममा तीस जनाको सहभागिता रहेको छ । नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवसको अवसरमा आयोजित तालिम शनिवार समापन हुने छ । दिवसको अवसरमा महासंघ पर्वत शाखाले गुप्तेश्वर वेदवेदांग पाठशालामा विभिन्न सामाग्री सहयोगको कार्यक्रम समेत राखेको छ ।