पर्वत १० कात्तिक : पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कवाट एम्बुलेन्स सेवा संचालनमा आएको छ ।
भारत सरकारको सहयोगमा प्राप्त भएको एम्बुलेन्स आइतवारदेखि संचालनमा आएको हो । नगरपालिका भएपनि सदरमुकामको पहुँचवाट टाढा रहेको आर्थर डाँडाखर्क र आसपासका बिरामीहरुलाई उपचारका लागि अस्पताल आउजाउ गर्न समस्या भएको अवस्थालाई मध्यनजर गर्दै विभिन्न व्यक्तिहरुको पहलमा भारत सरकारको सहयोगमा एम्बुलेन्स उपलव्ध गराईएको थियो ।
एम्बुलेन्स सेवाको आइतवार एक समारोह बीच शुभारम्भ गरिएको छ । संविधान सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको हो । सो अवसरमा जोशीले आर्थर डाँडाखर्क र आसपासका बासिन्दाहरुको लामो समयदेखिको प्रतिक्षा पुरा भएको बताउनुभयो ।
शिक्षा र स्वास्थ्यको गुणस्तरीय सेवा गाउँमा नहूँदा बसाईसराई गर्ने क्रम बढिरहेको बताउँदै जोशीले एम्बुलेन्स सेवाले गाउँमा बस्ने विपन्न र असहाय नागरिकहरुलाई सहजता प्रदान गर्ने बताउनुभयो । एम्बुलेन्स भित्रिएर मात्र नहुने भन्दै जोशीले यसको दिगो संचालनका लागि समुदायका सवै बासिन्दाहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
विकास निर्माणमा राजनीति नगर्न समेत उहाँको सुझाव रहेको छ । राम्रो कामका लागि सवैले साथ र सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । समय परिवर्तनशिल छ, अबपनि पुरानै तौरतरिकाले काम गर्ने अवस्था छैन, हरेक वर्ग, क्षेत्र, सम्प्रदायको सहभागिता सुनिश्चित गर्न सके सवैले अपनत्व पनि बहन गर्ने भएकाले यसतर्फ ध्यान दिन उहाँले जनप्रतिनिधिहरुलाई समेत सुझाव दिनुभयो ।
जोशीले आफुँ पदमा रहँदा पनि नरहँदा पनि पर्वत जिल्लाको विकासका लागि निरन्तर सक्रिय रहँदै आएको बताउँदै जनचाहाना पुरा गर्नका लागि अझैपनि अहोरात्र खटिरहने प्रतिद्धता व्यक्त गर्नुभयो ।
आर्थर डाँडाखर्क स्वास्थ्य चौकीमार्फत संचालन हुने एम्बुलेन्सलाई दिगो रुपमा संचालन गर्नका लागि कोष समेत निर्माण गरिने भएको छ । पारदर्शि रुपमा शुल्क निर्धारण गरेर आर्थिक हिसावले सम्पन्न परिवारलाई सकुल्क र विपन्न परिवारलाई निशुल्क सेवा संचालन गरिने कुश्मा नगरपालिका वडा नंं. १४ का वडा अध्यक्ष रुद्रमोहन रिमालले बताउनुभयो । उहाँले वडाको विकासका लागि आफुले सहकार्य र समन्वय गर्दै अघि बढिरहेको बताउँदै बाँकी कार्यकालमा समेत वडाको विकासमा हातेमालो गर्ने सवैलाई अनुरोध गर्नुभयो । उहाँले आफ्नो वडामा एम्वुलेन्स भित्र्याउन सहयोग गर्ने सवै निकायलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी तथा हङकङ जनसम्पर्क समितिका पुर्व सचिब मिनप्रसाद गुरुङ, कुश्मा नगरपालिका वडा नंं. २ का अध्यक्ष लालकृष्ण बास्तोला, वडा नं. ७ का अध्यक्ष परशुराम पुरी, वडा नं. १२ का वडा अध्यक्ष झलक रिमाल, कुश्मा नगरपालिका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा, वडा सदस्य चित्रप्रसाद रिमाल, माओवादी केन्द्रका अनुप शर्मा, एमालेका चित्रराज रिमाल, स्वास्थ्य चौकीका सुचना अधिकारी सुदिप शर्मा, आर्थर डाँडाखर्क युवा क्लवका सचिब लक्ष्मण शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत स्वाथ्य चौकी प्रमुख चन्द्रकान्त शर्माले गुर्नुभएको थियो ।
एम्बुलेन्स सेवा शुरु भएपछि आर्थर डाँडाखर्क, पकुवा, खौलालाकुरी, राम्जादेउराली, चित्र लगायतका क्षेत्रका बासिन्दालाई सहज हुने भएको छ । यो सँगै कुश्मा नगरपालिका वडा नं. १२ मा पनि एम्बलेन्स सेवा संचालन हुँदै आएको छ ।