पर्वत- जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी चेकिङमा कडाई गर्न थालेको छ । भखरै मात्र सरुवा भएर आउनु भएका ट्राफिक प्रहरी प्रमुख बलवहादुर गुरुङले सवारी दुर्घटनामा कमी ल्याउने उद्देश्यले चेकिङमा कडाई गर्न थाल्नु भएको हो । कार्यालय यस बर्ष एक करोड भन्दा बढि राजश्व उठाउने लक्ष्य लिएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७९÷०८० मा दश हजार ९ सय ७० सवारीलाई कार्वाही गरी ९२ लाख ४० हजार ५ सय रुपैयाँ राजस्व सङकलन गरेको थियो । त्यस्तै गरी आर्थिक बर्ष २०८०÷०८१ मा १२ हजार २ सय ६५ सवारी साधनलाई कार्बाही गरेको थियो । जसबाट १ करोड १ लाख १७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
ट्राफिक प्रहरी आर्थिक बर्ष २०८१÷०८२ मा हालसम्म ७ हजार ५ सय ४० सवारी साधनलाई कार्बाही गरेको छ । जसबाट ७७ लाख ५३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । यो बर्ष १ करोड २ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रत्येक बर्ष राजश्वमा बृद्धि गराउने उद्देश्यले सवारी चेकिङमा कडाई गर्न थालेपछि सवारी दुर्घटनामा पनि कमी आएको छ । त्यस्तै ट्राफिक प्रहरीले मापसे चेकिङमा पनि कडाई गर्न थालेको छ । मापसे चेकिङबाट आर्थिक बर्ष २०७९÷०८० मा १ सय ९४ सवारी साधनबाट ३ लाख ७८ हजार राजश्व संकलन गरेको छ भने २०८०÷०८१ मा ३ सय ७७ सवारी साधनवाट ४ लाख ८ हजार राजश्वय संकलन भएको कार्यालयले जनाएको छ । यस आर्थिक बर्षको फागुनसम्म ट्राफिक प्रहरीले २ सय ३९ सवारी साधनबाट १ लाख २९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
राजश्व सँगै ट्राफिक प्रहरीले यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित गरी प्रचार पम्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालक परिचालक प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण, सिट क्षमता आरक्षण अनुगमन, विद्यार्थीलाई प्रशिक्षण ,साना तथा ठुला सवारीमा स्टिकर टाँस गर्नै, सवारी चालकको स्वास्थ्य परिक्षण, सवारीको यान्त्रिक परिक्षण ,ग्रामीण भेगमा सचेतनाका कार्यक्रम गरेको ट्राफिक प्रहरी प्रमुख गुरुङले जानकारी दिनुभयो ।