पर्वत : कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोके अनुसार शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतले जिल्लाका हरेक स्थानीय तहमा दबाब दिएको छ।
सङ्गठनको जिल्ला कार्यसमितिको समन्वयमा सात वटै पालिकामा पुगेर शिक्षकहरूका लागि तोकिए अनुसारको सशर्त रकम उपलब्ध गराउन अनुरोध गरिएको हो। कार्यरत सबै प्रकारका शिक्षकहरूलाई तोकिएको वर्गीकरण अनुसार स्थानीय भत्ता उपलब्ध नगराएकोमा तोकिए बमोजिम कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले स्थानीय तहमा पुगिएको सङ्गठन पर्वतका अध्यक्ष सुरेन्द्र शर्मा गौतमले बताए। सात वटै स्थानीय तहमा एकै पटक एकै समयमा नै ध्यानाकर्षण पत्र बुझाइएको हो।
आर्थिक वर्ष २०८२ / २०८३ को साउन महिनाबाट नै तोकिएको भत्ता उपलब्ध नभएसम्म निरन्तर दबाब र समन्वय गरी स्थानीय तहमा पनि दबाब कायमै राखिने उनको भनाइ छ। नेपाल सरकारको कार्यक्रम कार्यान्वयन कार्यविधिमा आर्थिक वर्ष २०८०/२०८१ मै शीर्षक २.२ मा शिक्षकको तलब भत्ता तथा सेवा सुविधाको तालिकाको सुविधा भन्ने शीर्षक बमोजिम तलब, ग्रेड, संचयकोष थप, चाडपर्व, पोसाक सुविधा, महँगी भत्ता, स्थानीय भत्ता, प्राविधिक भत्ता र प्रधानाध्यापक भत्ता उल्लेख भएको स्थानीय तहमा बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
तर पनि हालसम्म स्थानीय भत्ता उपलब्ध नगराएकोले आर्थिक वर्ष २०८२ / २०८३ मा अपुग अपर्याप्त रकम भएको सेवा सुविधाको तलब भत्ता यकिन गरी माग्नका लागि शीर्षक नं. ८ मा व्यवस्था रहेको सङ्गठनले बताएको छ। पर्वत सहित देशका ३८ जिल्लाका सबै तहका स्वीकृत दरबन्दीमा कार्यरत स्थायी शिक्षक, सबै तहका स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी÷करार शिक्षक, प्राविधिक धार (कक्षा ८–१०) मा कार्यरत प्रशिक्षक सहायक प्रशिक्षक र प्राविधिक धार (कक्षा ११ – १२) मा कार्यरत प्रशिक्षकलाई वार्षिक रूपमा १०.५ महिनाको स्थानीय भत्ताको निकासा व्यवस्था गरेको अध्यक्ष गौतमले बताए।
स्थानीय तहले चालु आर्थिक वर्षमा सबै तहका दरबन्दीमा कार्यरत शिक्षक, कर्मचारीहरूको सेवा सुविधाको तलब भत्ता यकिन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखामा माग गरी खुवाउनु पर्ने व्यवस्था भएकोले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकदेखि नै स्थानीय भत्ता (मासिक रूपमा तलब भत्ता समेत) उपलब्ध गराउन सङ्गठनले माग गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइले स्थानीय तहमा कार्यरत कर्मचारीहरूले जस्तै शिक्षकहरुले पनि स्थानीय भत्ता पाउने कुरा पोखरामा भएको एक कार्यक्रममा स्पष्ट पारिएको बताए। उनले भने, ‘स्थानीय भत्ता सम्बन्धमा पोखरामा भएको गोष्ठीमा स्पष्ट पारिएको थियो। जुन स्थानीय तहमा कार्यरत कर्मचारीहरूले जति स्थानीय भत्ता बुझ्नु हुन्छ सोही बमोजिम शिक्षकले पनि पाउनु हुन्छ, साउनदेखिको हिसाब गरी दिनुहुन भनी कार्यक्रम तथा बजेट शाखाका प्रमुख नीलकण्ठ ढकालको प्रस्तुतीकरणमा उल्लेख गरिएको थियो।’