प्रमुख समाचार

एमाले पर्वतका संस्थापक नेता पौडेलकाे निधन, पाटीद्वारा दुःख ब्यक्त

By लोकतन्त्र अनलाईन

June 23, 2025

पर्वत – नेपाल कम्युनिस्ट पार्टी (एमाले) पर्वतका संस्थापक सदस्य, प्रखर शिक्षासेवी तथा समाजसेवी गणेश शर्मा पौडेलकाे आइतवार राति निधन भएको छ। ८२ वर्षीय पौडेलको निधनले पर्वत जिल्लामा शोकको वातावरण छाएको छ।

वि.सं. २००० माघ १३ गते जन्मिएका पौडेलले तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले) पर्वतको संस्थापक सदस्यको रूपमा जिल्लामा वामपन्थी राजनीतिक चेतनाको जग बसाल्न अहम भूमिका खेलेका थिए। उनी दीर्घकालीन राजनीतिक, शैक्षिक र सामाजिक योगदानमार्फत जिल्लाभरि सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए।

पार्टीले जारी गरेको शाेक विज्ञप्ति अनुसार पौडेल नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य थिए। उनले लामो समय शिक्षण पेशामा समर्पित रहेर पर्वतको शैक्षिक विकासमा उल्लेखनीय योगदान दिएका थिए। नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको अध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी समेत उनले वहन गरेका थिए।

२०४६ सालको शिक्षण आन्दोलनदेखि लिएर पार्टी संगठन विस्तार, सामाजिक चेतना अभिवृद्धि, सांस्कृतिक जागरण र सेवामूलक कार्यमा पौडेलको योगदान प्रेरणादायी रहेको नेकपा (एमाले) पर्वतले जनाएको छ।

पार्टी अध्यक्ष गाेबिन्द पहाडीले शाेक बक्तब्य जारी गर्दै भनिएको छ, “उहाँकाे सांस्कृतिक स्वाभिमान र समाज निर्माणप्रतिको सपना तथा लक्ष्यहरूलाई पहिल्याउँदै जिल्ला कमिटी प्रतिवद्ध रहनेछ।”

पार्टीका अनुसार पौडेलको पार्थिव शरीर आज दिउँसो १ बजे मोदीबेनी घाटमा अन्त्येष्टि गरिने छ। त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनकाे पार्थिव शरीर कुश्मा स्थित पार्टी कार्यालयमा राखिने छ।

नेकपा (एमाले) पर्वतले पौडेलप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै “उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली” व्यक्त गरेको छ।