प्रमुख समाचार

पर्वतको ‘द क्लिफ’ उत्कृष्ट करदातामा ह्याट्रिक गर्न सफल

By लोकतन्त्र अनलाईन

November 21, 2025

पर्वत — द क्लिफले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ। यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाता मध्ये सेवा उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस-२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले द क्लिफलाई सम्मान गरेको हो।

यसअघि द क्लिफले २०८० र २०८१ मा दुई पटक उत्कृष्ट करदाताको रूपमा सम्मान पाएको थियो। यसरी व्यवसाय सञ्चालन गरेको पाँच वर्षको अवधिमै ‘द क्लिफ’ले सबैभन्दा धेरै कर तिर्नेमा ह्याट्रिक गरेको हो।कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले क्लिफका निर्देशक राजनकुमार जोशीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ।

क्लिफको रिसोर्टमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काई ग्लाइडिङ, मेगा ट्रोललगायत गतिविधिहरू सञ्चालनमा छन्।