प्रमुख समाचार

अपाङ्गगता भएकाहरुलाई उद्यम संचालन गर्न बिऊपुँजी वितरण

By लोकतन्त्र अनलाईन

June 21, 2025

पर्वत– पर्वतका विभिन्न ग्रामीण क्षेत्रमा रहेका अपाङ्गता भएको व्यक्तिहरुलाई समुदायमा आधारित पुर्नस्थापना (सिबीआर) कार्यक्रम अन्तर्गत उद्यम तथा व्यावसाय संचालनका लागि बिऊपुँजी वितरण गरिएको छ । सामाजिक विकास कार्यालय पर्वतको आर्थिक सहयोगमा नेपाल अपांग उत्थान समाज पर्वतले बिऊपूँजी वितरण गरेको हो । आत्मनिर्भरता तथा ब्यावसायमार्फत आर्थिक समुन्नतीका लागि थोरै भएपनि राहत उपलव्ध गराउने उद्धेश्यले बिउँपुजी वितरण गरिएको नेपाल अपांग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्माले बताउनुभयो । शर्माका अनुसार शनिवार कुश्मामा आयोजित क्षमता विकास तथा बिउपुँजी परिचालन सम्वन्धि तालिमको अवसरमा उक्त रकम वितरण गरिएको छ । कुश्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकाका १२ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई जनहि रु. १५ हजार रुपैयाका दरले रकम वितरण गरिएको शर्माले बताउनुभयो । उक्त बिऊपुँजी लगानी गरी व्यावसायीक तरकारी खेती, कुखुरा, तथा बाख्रापालन, व्यापार व्यावसाय गर्न सक्नेछन् । अहिले प्रदान गरिएको रकम न्यून भएपनि यसको सहि सदुपयोग भएमा मनग्गे आम्दानी गर्न सकिने र फरक क्षमता भएर पनि केहि गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्ने उहाँले बताउनुभयो । अघिल्लो वर्ष विहादी, पैंयु, महाशिला र फलेवासका अपाङ्गता भएका व्यक्तिहरुलाई बिऊँपुँजी वितरण गरिएको थियो ।

सो अवसरमा बिउपुँजी पाउने तथा जिल्लाका अपाङ्गता भएका व्यक्रिहरुलाई क्षमता विकास सम्वन्धि तालिम समेत प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय पर्वतका सहायक प्रशासकिय अधिकृत बालकृष्ण घिमीरेले अपाङ्गता भएका व्यक्तिहरुको सिप, क्षमता विकासका साथै उनिहरुलाई स्वरोजगारमुखि र आत्मनिर्भर बनाउनका लागि कार्यालयले काम गर्दै आएको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुको मागका आधारमा कार्यालयले जिल्लाभर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताउँदै आगामी वर्षहरुमा पनि उनिहरुको सहयोगका लागि कार्यालय तयार रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, अपांग उत्थान सञ्जालका जिल्ला अध्यक्ष यज्ञ पौडेल, सामाजिक महिला उद्यमी जमुना आचार्य लगायतले बोल्नुभएको थियो । अपाङ्ग उत्थान समाज पर्वतका कोषाध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नेत्रहिन संघ गण्डकीका सदस्य हरिदत्त शर्मा र संचालन अध्यक्ष जगन्नाथ शर्माले गर्नुभएको थियो ।