पर्वत– आर्थिक हिनामिनामा मुछिएको कुश्माको वैशाली सहकारीको रकम हिनामिना तथा अपचलनमा संलग्नहरुलाई तत्काल रकम दाखिला गर्न जिल्ला प्रहरी कार्यालय पर्वतले ताकेता गरेको छ ।
सहकारीको १८ करोड रुपैया हिनामिना गरेको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरामा परेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय पर्वतले बुधवार सुचना जारी गर्दै तत्काल रकम दाखिला गर्न अनुरोध गरेको हो । प्रहरीद्धारा जारी सुचनामा प्रतिवादी कुमारी पुर्जा पुन समेत रहेको बैशाली कृषि सहकारी संस्था लि. को सहकारी ठगी मुद्दा नियमनकारी निकाय सहकारी रजिष्ट्रार कार्यालयको छानबिन प्रतिवेदन २०८२ मा सहकारीको रकम हिनामिना तथा अपचलनमा संलग्न रहेका सहकारी ऐन अन्तर्गत निषेधित व्यक्तिहरु सहकारी संस्था संचालनमा संलग्न रहेका विभिन्न कालखण्डका संचालक समितीका पदाधिकारीहरु, ऋण उपसमितीका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समितीका पदाधिकारीहरु, कर्मचारीहरु, ऋणका नाउँमा रकम निकासीमा संलग्न रहेका ब्यक्तिहरु समेतले यहि भदौ १३ गतेभित्र रकम दाखिला गर्न भनेको हो ।
बैशाली कृषी सहकारी संस्था लिमिटेडको गरिमा बिकास बैंक लिमिटेड कुश्मा शाखामा रहेको बचत खाता नं. ०१२००१००६३४५७००००००१ मा रकम दाखिला गरी दाखिला प्रमाण पेश गर्न प्रहरीले अनुरोध गरेको छ । यसैगरी हिनामिना तथा रकम अपचलनमा संलग्न रहेका ब्यक्तिहरुको छानबिन प्रतिवेदन बमोजिम निर्धारण भएको दायित्व भुक्तान गर्न सहकारीको शेयर तथा बचत खातामा रकम पर्याप्त रहेको भए सोको प्रमाण सहित जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन समेत प्रहरीले आग्रह गरेको छ । बैशाली कृषि सहकारी संस्था लिमिटेडसँग सम्बन्धीत रहेका स्थापनाकालदेखि हालसम्मका पदाधिकारीहरु, कर्मचारीहरु, सहकारी निषेधित व्यक्तिहरु (गैर शेयर सदस्य समेत), ऋणीका नाउँमा रकम निकासी लिने व्यक्तिहरु) र सहकारीको कारोबारमा जोडिएका सम्पूर्ण व्यक्तिहरुले आफु हिनामिनामा संलग्न रहे नरहेको र आफुले भुक्तान गर्नुपर्ने हिनामिना तथा अपचलनको दायित्व रकमको जानकारीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतको मुद्दा शाखामा जानकारी लिन समेत प्रहरीले अनुरोध गरेको छ । प्रहरीले यस अघि आर्थिक अनियमिततामा संलग्न पाँच जनालाई पक्राउ गरिसकेको छ । भने सहकारी रजिष्ट्रारको कार्यालयले एक सय ५३ जना विरुद्ध मुद्धा चलाउन प्रहरीलाई पत्राचार गरिसकेको छ । रष्ट्रिारको पत्राचारपछि सहकारीका अध्यक्ष सहित केहि सञ्चालकहरु फरार रहेको बताईएको छ । यो सहकारी संस्थामा चार सय २६ जना बचतकर्ता रहेका छन् ।