पर्वत– युवाहरुको क्षमता र व्यक्तित्व विकासमा सक्रिय रहँदै आएको पर्वत जेसीजको आयोजना पर्वतमा पहिलोपटक सवैभन्दा ठुलो पुरस्कार राशीको ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता हुने भएको छ ।
देशभरका जेसिज तथा गैर जेसिजहरुको लागि खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुन लागेको हो । खेलका माध्यमबाट पर्वत जिल्लाको पर्यटन र आर्थिक समृद्धिमा टेवा पुर्याउनुको साथै कुश्माबजारको खस्कदो व्यापार व्यावसाय र आर्थिक मन्दिलाई चलायमान बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको हो । आगामी भदौ ५ गतेदेखि ७ गतेसम्म गरी तीन दिनसम्म संचालन हुने प्रतियोगिताको अहिले तयारी भैरहेको छ । प्रतियोगिताबारे शनिवार कुश्मामा पत्रकार सम्मेलनको आयोजना गरि औपचारिक रुपमा कार्यक्रम सार्वजनिक गरिएको हो । पर्वत जेसिज वर्ष–२०२५ का अध्यक्ष अच्युत पौडेलले पर्वत जेसिजका कामहरूलाई जिल्लाभित्रमा मात्रै सीमित नगरेर अन्य जिल्लाका जेसिज तथा जेसिज बाहिरका संघसंस्था क्लबहरूसँग जोडिनका लागि यो प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।
जेसिजमा आबद्ध रहेका सदस्यहरू तथा देशभित्र र बाहिर रहेका विभिन्न सामाजिक व्यक्तिहरूका सहयोगमार्फत सहयोग जुटाएर प्रतियोगिता गरिने भएको छ । पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँमा आयोजना हुने प्रतियोगितामा विजेता बन्ने समूहले पुरस्कार स्वरूप एक लाख एक हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता बन्ने समूहले ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषणा गरिने, सबैभन्दा बढी गोल गर्ने खेलाडी, ‘प्लेयर आफ द टुर्नामेन्ट’, ‘वेस्ट किपर’, ‘वेस्ट डिफेन्डर’ र ‘वेस्ट मिडफिल्डर’ लाई कुश्मामा रहेको साहसिक खेल ‘जीपलाइन’ मा साहसिक खेलको अवसर प्रदान गरिने पर्वत जेसिजले बताएको छ । प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका २० भन्दा बढि समुह सहभागि हुने जनाईएको छ । प्रतियोगिता अखिल नेपाल फुटबल संघको नियम र विधिअनुसार एन्फाकै आधिकारीक खेलाडीहरुद्धारा संचालन गरिने भएको छ । प्रतियोगिता संचालनका लागि झण्डै साढे पाँच लाख रुपैया खर्च लाग्ने भएपनि खेलाडीहरु तीन दिनसम्म रहँदा कुश्माबजारमा २५ लाख भन्दा बढिको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले जिल्लामै पहिलोपटक ठुलो धनराशी पुरस्कार भएको सेभेन ए साईड फुटवल प्रतियोगिता हुनु सुखद विषय भएको बताउँदै यसलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि सञ्चार क्षेत्रवाट आवश्यक सहयोग र सहजीकरण गरिने बताउनुभयो । उहाँले खेल क्षेत्रसँग सम्वन्धित निकायहरुले समेत उक्त कार्यक्रमलाई आवश्यक सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । कार्यक्रममा पर्वत जेसीज अध्यक्षीय क्लवका अध्यक्ष निर्मल विश्वकर्माले राष्ट्रिय स्तरदेखि स्थानीय खेलाडीहरुको जमघट रहने प्रतियोगितालाई पुर्ण रुपमा सफल पार्नका लागि सवै पर्वतवासीहरुको साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत पत्रकार सम्मेलन संयोजक लक्ष्मण विसी, खेल प्रतियोगिताका बारेमा जानकारी प्रतियोगिता संयोजक एन्जल कर्माचारी र कार्यक्रमको संचालन महासचिब प्रवेशराज पुरीले गर्नुभएको थियो । प्रतियोगिताका लागि ९ वटा विभिन्न उपसमितिहरु समेत बनाईएको छ ।