मुख्य समाचार

पर्वत अस्पतालको सामाजिक परिक्षण सम्पन्न

By लोकतन्त्र अनलाईन

May 19, 2025

पर्वत– जिल्लाको एकमात्र सरकारी अस्पताल प्रदेश अस्पताल पर्वतको यस आर्थिक वर्षमा भएका प्रगतिको बारेमा सामाजिक परिक्षण गरिएको छ। लालटिन मिडिया पर्वतको सहजीकरणमा आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

अस्पतालले पारदर्शिता, जिम्मेवारीपन र सेवाग्रहीका धारणा लिनका लागि सामाजिक परिक्षण गरेको हो । सो अवसरमा अस्पतालबाट भएका सेवा प्रवाहमा सेवाग्राहीले भोग्नुपरेका समस्याका बारेमा अस्पताल प्रशासनसँग जिज्ञासा राखेका थिए । जिज्ञासाको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमन्त बास्तोला र अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले उत्तर दिनुभएको थियो ।

सहभागीहरुले अस्पतालमा सेवा प्रदायकले दिने गरेका झण्झट, बिमाका कारण भोग्नुपरेको समस्या, ईमर्जेन्सीमा हुने गरेको ढिलासुस्ती, औषधि समयमा नपाईने र बिमाको औषधि प्रयाप्त नभएको लगायका गुनासो राखेका थिए । साथै सहभागीहरुले अस्पतालमा सेवा सुधार भएर जनविश्वास बढेको भएपनि अझै गुणस्तरिय सेवा दिन विशेषज्ञहरु थप गर्न समेत सुझाव दिएका थिए ।

कार्यक्रममा अस्पतालको तर्फबाट डा. बास्तोलाले अस्पतालले विगत वर्षमा पु¥याएका उल्लेखनीय उपलब्धिहरू, भोगेका समस्याहरू र समाधानका लागि गरिएका प्रयत्नहरूको र सेवाग्राहीका समस्या समाधान गरि अझै गुणस्तरिय सेवा दिन प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अस्पतालको सेवा गुणस्तर सुधार गर्न गरिएको काम, उपकरण विस्तार, सेवा पहुँचमा सुधार, संरचनात्मक विकास र व्यवस्थापनमा पारदर्शिता ल्याउन गरिएको पहलहरू प्रस्तुत गर्नुभयो।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले आँफूले अध्यक्ष भएदेखि हालसम्म अस्पताल सुधारका लागि सबै पक्षसँग समन्वय गरि निरन्तर लागिरहेकोे बताउनुभयो । सबै पक्षको पलहले अस्पताल अहिले सुधार भई थप सेवा दिन सक्ने अवस्थामा रहेको बताउँदै ५० शैयाको अस्पताल संचालनसँगै अझै सुधार भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा सेवा प्रदायक र सेवाग्राहीले दिएका प्रतिक्रिया माथि पत्रकार गणेश पौडेलले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा १९ जना प्रश्नकर्ताहरूले विभिन्न सेवा पक्षमा आफ्ना समस्याहरु राखेका थिए। कार्यक्रमको संचालन लालटिन मिडियका प्रबन्ध निर्देशक सुमन थापाले गर्नुभएको थियो ।