प्रमुख समाचार

पर्वत जेसीजको सप्ताहब्यापी कार्यक्रम शुरु, पहिलो दिन बक्तृत्वकला प्रतियोगिता सम्पन्न

By लोकतन्त्र अनलाईन

November 16, 2025

पर्वत– युवाहरुको नेतृत्व, सीप विकास र समुदाय सेवा केन्द्रित कार्यक्रम संचालन गर्दै आएको पर्वत जेसीजको जेसीज सप्ताह–२०२५ शनिवारदेखि शुरु भएका छ । सप्ताहको पहिलो दिन विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । “सीप र सम्भावना : नयाँ युगको सुरुवात” विषयक प्रतियोगितामा आर्दश आवासीय माविका शुभम पौडेल प्रथम, नारायण मा.वि का सन्तोष पौडेल द्वितीय, नमुना आ.मा.वि का छात्रा सजता गिरी तृतीय तथा काफलचौर मा.वि.का अभिषेक गिरी सान्त्वना स्थान हात पारेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालका उपसचिब राजेन्द्रबहादुर क्षेत्रीले अहिलेको समयमा सिप र दक्षता तीनै तहका सरकारको नेतृत्व गर्ने व्यक्तिहरुका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले जवसम्म नेतृत्वकर्ताहरु सक्षम हुँदैनन् तबसम्म उनिहरुले उचित नियम, कानून र कार्यक्रम संचालन गर्न नसक्ने भएकाले उनिहरुका निम्ति सिप, दक्षता र क्षमता विकासका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र के.सी, पर्वत जेसीज अध्यक्षीय क्लवका अध्यक्ष निर्मल विश्वकर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जेसीज सप्ताहको मूल संयोजनको शर्मिला शर्माले सात दिन सम्म गरिने विभिन्न कार्यक्रम र गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो । स्वागत मन्तव्य कानुनी सल्लाहकार अमृत प्रसाद पोखरेलले गर्नुभएको थियो । पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो । पर्वत जेसीजले एक वर्षका योजनाहरूलाई मूर्त रूप दिने उद्देश्यसहित सञ्चालनमा ल्याएको सप्ताहभित्र स्वास्थ्य सचेतना, खेलकुद, डिजिटलीकरण, क्षमता विकास, सामाजिक सेवा तथा समुदायका अन्य कार्यक्रमहरू क्रमिक रूपमा अघि बढ्ने जनाइएको छ ।