पर्वत ३० भदौ : गत सोमवार र मंगलवार भएको जेनजी पुस्ताको आन्दोलनले प्रभावित बनेको पर्वतको जनजीवन विस्तारै लयमा आउन थालेको छ ।
जेनजी आन्दोलनपछि दैनिकजसो जारी निषेधाज्ञाका कारण पर्वतका सातवटै स्थानीय तह, संघ तथा प्रदेश अन्तर्गतका कार्यालयको सेवा आइतवारदेखि सुचारु भएको छ । भने विद्यार्थीहरुको पठनपाठन समेत संचालन हुन थालेको छ । यसैगरी बैक तथा वित्तिय संस्थाहरु पनि खुल्न थालेसँगै बजारमा चहलपहल शुरु भएको छ ।
जिल्लाका स्थानीय तहहरुले अर्को सुचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द रहेको जानकारी गराएका थिए । जिल्लाको महाशिला गाउँपालिका, विहादी, पैंयू, जलजला, मोदी र फलेवास तथा कुश्मा नगरपालिकाले अर्को सुचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेकोमा आइतवारदेखि पुर्ण रुपमा सेवा संचालन गर्न थालेका छन् । जेनजी आन्दोलनपछि चोरी, डकैती, लुटपाट, तोडफोड जस्ता कार्य हुन सक्ने भन्दै आवश्यक सुरक्षा सतर्कताका लागि सेवा प्रवाह बन्द गरिएको र अवस्था सामान्य भएपछि सुचारु गरिएको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसालले बताउनुभयो ।
महाशिलामा गाउँपालिकाको कार्यालयमा जेनजी समर्थक युवाहरुले तालाबन्दी समेत गरेका थिए । यसैगरी जलजला गाउँपालिकाले पनि अत्यावश्यक बाहेक नियमित सेवाहरु बन्द गरिएकोमा आइतवारदेखि शुरु गरिएको जनाएको छ । सुरक्षा सतर्कताका लागि सेवा प्रवाह बन्द गरिएकोमा हिजोदेखि सवै शुरु गरिएको अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
यता मोदी गाउँपालिकाले पनि पुर्व निर्धारित कार्यक्रमहरु समेत रोकेको थियो । स्थिति सामान्य नहुने बेला सम्मका लागि पुर्व निर्धारित कार्यक्रमहरु समेत संचालन गर्न नसकिएकोमा आइतवारदेखि सवै सेवा नियमित शुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले दुईदिने आन्दोलनपछि असहज बनेको परिस्थिति, पञ्जिकरण तथा राहदानी, तथा नागरिकताका सर्वरहरुमा आएको समस्याका कारण सेवा सुचारु गर्न समय लागेको बताउनुभयो । उहाँले निषेधाज्ञा हटाएसँगै आइतवारदेखि सवै सेवा संचालन गरिएको जानकारी दिनुभयो ।
आन्दोलनपछि ठप्प रहेका जिल्लाका शैक्षिक संस्थाहरुमा समेत हिजोदेखि पठनपाठन शुरु भएको छ ।
यस्तै गत मंगलवारदेखि बन्द भएका बैक तथा वित्तिय संस्थाहरु समेत आइतवारदेखि खुलेका छन् । जेनजी आन्दोलनका क्रममा पर्वतका तीन ठुला राजनीतिक दलका पार्टी कार्यालय तथा पुर्व मन्त्री पदम गिरीको घरमा आगजनी गरिएको थियो भने शहिद गोबिन्दनाथ शर्माको शालिक र सदरमुकाम कुश्माका स्थापक अमृति जोशीको शालिक तोडफोड गरिएको थियो । यस्तै पर्वत कारागारका १९ जना कैदीबन्दी भगाईएको थियो ।