प्रमुख समाचार

पर्वतको पैंयूँ आधारभुत अस्पतालमा स्वास्थ्य बिमा सुविधा, प्रथम विन्दु कायम

By लोकतन्त्र अनलाईन

August 13, 2025

पर्वत, २८ साउन : दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा रहेको पैयूँ आधारभुत अस्पतालबाट पनि स्वास्थ्य विमा सुविधा प्रदान गरिने भएको छ ।

नेपाल सरकारको स्वास्थ्य बिमा बोर्ड, बबरमहलको व्यवस्थापकीय निर्णयअनुसार पैयूँ अस्पताललाई प्रथम बिन्दु कायम गर्ने निर्णय अनुसार अब स्वास्थ्य सेवाका सवै सुविधा प्रदान गरिने भएको हो । स्वास्थ्य बिमा बोर्डका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी विवेक मल्लका अनुसार, गाउँपालिकाको माग र अस्पतालको भौतिक संरचना लगायतका आधारमा यो निर्णय गरिएको हो । उहाँले भन्नुभयो,–‘हामी भदौ महिनाभित्र सम्झौता गर्ने तयारीमा छौँ ।’ उहाँले प्रथम बिन्दु कायम गर्ने निर्णय भइसकेको छ र छिट्टै सम्झौताको लागि बोलाउने तयारी भएको जानकारी दिनुभयो ।

यस अघि सदरमुकाम कुश्मामा रहेको प्रदेश अस्पतालमा मात्र सिमीत रहेको स्वास्थ्य बिमाको सुविधा अब गाउँबाटै पाउने भएपछि स्थानीयवासी हर्षित बनेका छन् । पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले पैयूँ अस्पताललाई स्वास्थ्य बिमा बोर्डको प्रथम बिन्दु कायम गरिएको जानकारी दिँदै पैयूँबासीका साथै दक्षिण पर्वतका महाशिला, विहादी र पैंयूका वासीन्दालाई ठुलो राहत मिल्ने बताउनुभयो ।

प्रथम बिन्दु कायम भएसँगै महाशिला, पैयूँ र बिहादी गाउँपालिकाका नागरिकलाई अब स्वास्थ्य बिमा सेवाका लागि सदरमुकाम कुश्मा वा छिमेकी जिल्ला स्याङ्जाको वालिङ अस्पताल धाउनु पर्ने बाध्यता हटेको छ । सामान्य समस्यादेखि जटिल समस्याका बिरामीको उपचार तथा रिफर गराउनका लागि अब समस्या नहुने पैंयू–५ का अध्यक्ष नारायण भुर्तेलले बताउनुभयो ।

पैंयू गाउँपालिकाले यसै महिनादेखि पैंयू अस्पतालमा सुविधा सम्पन्न फार्मेसी सेवा समेत संचालनमा ल्याएको थियो ।