प्रमुख समाचार

पर्वतका नागरिक समाज र सामाजिक संस्थाहरूको संयुक्त अपिल : राजनीतिक संकट अन्त्य गर्न र शान्तिपूर्ण वातावरण कायम गर्न आग्रह

By लोकतन्त्र अनलाईन

September 12, 2025

पर्वत-  पर्वतका विभिन्न नागरिक समाज र सामाजिक संस्थाहरूले हालको राजनीतिक अस्थिरता र देशभर बढ्दै गएको अशान्तिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शान्ति, स्थिरता र विधिको शासन कायम गर्न सबै राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेका छन्। संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा जेन-जि युवा पुस्ताहरूको आन्दोलनका क्रममा भएको जनहानिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै घाइतेको उपचार र पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरिएको छ। विज्ञप्तिमा आन्दोलनकै क्रममा गरिएको तोडफोड, आक्रमण र हिंसात्मक गतिविधि तत्काल रोक्नुपर्नेमा जोड दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “यी घटनाको उच्चस्तरीय छानबिन आयोग गठन गरी स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्छ। दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइनुपर्छ।” सार्वजनिक सम्पत्तिमा आक्रमण, शैक्षिक संस्थामा तोडफोड, तथा निष्पाप नागरिकमाथि हिंसात्मक आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता घटनाले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी समेत दिइएको छ। भविष्यमा यस्ता घटनाबाट बच्न राज्यका निकायहरू चुस्त-दुरुस्त हुनुपर्ने र नागरिकको जीवन–सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। संस्थाहरूले हालको परिस्थितिमा सबै दल र सरोकारवालाले आत्मसंयम अपनाउँदै संवाद र सहकार्यबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “स्थायी शान्ति, सहमति, सद्भाव र समावेशितासहितको लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै दलले जिम्मेवारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।” यसअघि पनि यी संस्थाहरूले राजनीतिक संकट अविलम्ब अन्त्य गरी व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउने माग गर्दै विज्ञप्ति सार्वजनिक गरेका थिए। संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने संस्थाहरूमा उद्योग वाणिज्य संघ पर्वत, नेपाल पत्रकार महासंघ पर्वत, गैरसरकारी संस्था महासंघ पर्वत, नागरिक समाज सञ्जाल पर्वत, नेपाल मानव अधिकार संगठन पर्वत, शिक्षाका लागि राष्ट्रिय अभियान पर्वत र पर्वत अदालत बार इकाइ रहेका छन्।