खेलकुद

कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु, नगरप्रमुख जोशीद्धारा उद्घाटन

By लोकतन्त्र अनलाईन

January 09, 2025

पर्वत– कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु भएको छ । प्रतियोगिताको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख जोशीले स्वास्थ्यका लागि खेलकुद अनिवार्य रहेको बताउनुभयो । विद्यार्थीभित्र रहेको प्रतिभा र क्षमतालाई प्रस्फुटन गर्नका लागि यस्तो प्रतियोगिताको महत्वपुर्ण भूमिका रहने बताउँदै यसलाई विशुद्ध विद्यार्थीको प्रतिभासँग जोडेर हेर्न आग्रह गर्नुभयो । कतिपय विद्यालयहरुले जसरी पनि आफ्‌नो पक्षमा नतिजा पार्न सक्रियता बढाईरहेको बेला नगरप्रमुख जोशीले बिद्यालयको गरिमासँग नजोडिकन विद्यार्थीलाई निष्पक्ष रुपमा प्रतिस्पर्धा गर्न लगाउन आग्रह गर्नुभयो । हरेक वर्ष संचालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाई छ । जोशीले खेल क्षेत्रको विकासका लागि नगरपालिका विभिन्न संघ संस्थाहरुसँग पनि सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै खेलक्षेत्रको विकासवाट पनि नगर र समग्र मुलुकको विकासमा टेवा पुर्‍याउन सकिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसी, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल, वडा नं. ६ का अध्यक्ष इश्वर गिरी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको स्वागत शिक्षा उपसमिति संयोजक तथा वडा नं. १४ का वडा अध्यक्ष रुद्रमोहन रिमालले गर्नुभएको थियो भने संचालन नगर शिक्षा अधिकृत दिपक सुवेदीले गर्नुभएको थियो । तीन दिनसम्म संचालित प्रतियोगितामा नगर भित्रका २५ वटा विद्यालयका झण्डै पाँच सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याइभलिन थ्रो, कराँते र तेक्वान्दो विद्याभित्रका विभिन्न समूहमा प्रतिस्पर्धा हुँदै हुने छ । विभिन्न २७ प्रकारका खेलहरूमा छात्र र छात्रातर्फ गरेर कुल ५४ स्वर्ण, ५४ रजत र ५४ कांस्य पदकका लागि विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नुपर्ने छ । जुन विद्यालयले सबैभन्दा बढी स्वर्ण पदक जित्ने छ सोही विद्यालय विजेता बन्ने छ । चालु शैक्षिक सत्रमा माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रूपमा अध्ययनरत साथै विद्यालयको इमिश रेकर्डअनुसार १८ वर्षभन्दा मुनिका छात्र/छात्राहरू मात्रै प्रतियोगितामा सहभागी हुन पाउने छन् । कुश्मा नगरपालिकाले लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्ने विद्यालयलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा पहिलो संस्करणको रनिङ शिल्ड आयोजना गर्ने बेलामा भइसकेको छ ।