प्रमुख समाचार

पर्वतका पत्रकार र सुचना अधिकारीबीच अन्तरक्रिया : सुशासनमा सहकार्य र अनियमिततामा खबरदारी गर्ने अध्यक्ष सापकोटाको भनाई

By लोकतन्त्र अनलाईन

January 09, 2025

पर्वत- पर्वतका सररकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालयहरुको अर्धवार्षिक गतिविधि सार्वजनिक सहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले कार्यालयहरुवाट प्रवाह हुने नागरिकमैत्री सेवा, सुशासन, पारदर्शितामा पत्रकारहरुको सँधै साथ र सहकार्य हुने बताउनुभयो । उहाँले राज्यका जिम्मेवार निकायवाट हुने अपारदर्शिता, भ्रष्टाचार र अनियमिततामा पत्रकारहरुले सँधै खबरदारी गर्ने बताउनुभयो । सरकारी निकायहरुवाट प्रवाह भएका सेवाहरुवाट जिल्लावासीहरु सन्तुष्ट नरहेको बताउँदै राज्यका सेवाहरु सामान्य नागरिकले समेत सहजै प्राप्त गर्न सक्नेगरी दिनुपर्नेमा जोड दिनुभयो । अहिलेपनि पहुँच, दबाब र प्रभावको भरमा राज्यका सेवा सुविधा लिईरहेको बताउँदै अध्यक्ष सापकोटाले यसतर्फ जिम्मेवार हुन आग्रह समेत गर्नुभयो । संघ र प्रदेश कार्यालयहरुले चालु आर्थिक वर्षको ६ महिनामा गरेका कामहरुको समेत प्रगति न्यून देखिएको छ । जिल्लामा रहेका कार्यालय र स्थानीय तहहरुबीच आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा पनि अध्यक्ष सापकोटाको जोड छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नेकुरामा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो । उहाँले सरकारी निकायहरुलाई नागरिकप्रति जिम्मेवार बनाउनका लागि निरन्तर खबरदारी गर्न आग्रमह गर्दै राज्यवाट तोकिएका कार्यक्रमहरु पारदर्शि रुपमा संचालन गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला स्थित दुई दर्जन बढि कार्यालयले साउनदेखि पौषसम्मको प्रगति विवरण, समस्या तथा कार्यालयका अन्य गतिविधिहरुका बारेमा आ–आफ्‌नो प्रस्तुती राख्नुभएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले नेपाल पत्रकार महासंघको केहि दिन अघि सम्पन्न महाधिवेशनवाट निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारी, प्रदेश तथा संघमा निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन तथा सम्मान समेत गर्नुभएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले स्वागत र संचालन भरत सापकोटाले गर्नुभएको थियो ।