प्रमुख समाचार

फलेवास क्षेत्रमा रोपिएको जेठो बुढो धानमा ब्लाष्ट रोग देखियो

By लोकतन्त्र अनलाईन

August 08, 2025

पर्वत, २३ साउन : रोपेको महिनादिन नपुग्दै पर्वतका विभिन्न क्षेत्रमा लगाईएको पोखरेली जेठोबुढो धानमा ब्लाष्ट रोगको प्रकोप फैलिएको छ ।

जिल्लाको फलेवास नगरपालिकाका वडा नं. ४ मुडिकुवा, वडा नं. ५ खानीगाउँ, वडा नं. ६ देविस्थान लगायतका वडामा व्यावसायिक रुपमा लगाईएको जेठोबुढो धानमा रोग लागेको हो । ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ । गाँज राख्ने र सप्रिने बेलामा धानवालीमा समस्या देखिएपछि कृषक चिन्तित बनेका छन् । किसानहरुको वालीमा आकस्मिक रुममा रोग देखिएको फलेवास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिनुभयो ।

व्यावसायिक रुपमा लगाईको सयौ रोपनी खेतमा ब्लाष्ट रोगको प्रकोप देखिएपछि राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन ईकाई बागलुङका प्राविधिक सहितको टोलीले स्थलगत रुपमा अनुसन्धान गरेको छ । गत वर्ष गुबो कुहिने, ढुसी र किराकोे प्रकोपले क्षति व्यहोरेका कृषकले यस वर्ष पुनः ब्लाष्ट रोगले समस्या पारेको गुनासो गरेका छन् ।

अहिले फलेवासका तीन वटा वडामा बढि मात्रामा संक्रमण देखिएको भएपनि अन्य वडाहरुमा समेत सामान्य समस्या देखिन थालेको सञ्जालका अध्यक्ष भुसालले जानकारी दिनुभयो । उहाँले कृषि प्राविधिकहरुसँग समन्वय गरेर प्रकोपको निदानका लाग पहल भैरहेको बताउनुभयो । अन्य जानको धानमा भन्दा जेठोबुढोमा बढि संक्रमण देखिएको छ ।

स्थलगत रुपमा पुगेको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रमको प्राविधिक टोलिले  ट्राईसीक्लाजोल नामको विषादी सिफारीस गरेका छन् । कार्यालयका प्राविधिक ललित सुनारले धानवालीमा देखिएको समस्याको निदानका लागि उक्त विषादी सिफारीस गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एक ग्राम विषादी एक लिटर पानीमा घोलेर छर्किएपछि एक सातामै सुधार आउने जानकारी दिनुभयो ।

गत वर्षपनि यस्तो रोग लागेको भएपनि सामान्य क्षति भएको थियो । स्थानीय कृषक लालबहादुर कुँवरले धानमा गाँज राख्ने र सप्रिने बेलामा रोग लागेर नष्ट गर्न थालेको बताउनुभयो । उहाँले प्राविधिकहरुनै स्थलगत रुपमा अनुगमन गरी विषादी सिफारीस गरेकाले बाँकी असर नगर्ने विश्वास ब्यक्त गर्नुभयो । कृषकहरुलाई विषादी निशुल्क उपलव्ध गराईएको हो ।

कृषि ज्ञान केन्द पर्वतका सुचना अधिकारी सोविता सुवेदीले वर्खेवालीमा आउने समस्याको समाधानका लागि स्थानीय तहमा रहको कृषि शाखाका साथै ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रमबीच समन्वय र सहकार्य भैरहेको जानकारी दिनुभयो । ––– लक्ष्मीप्रसाद सापकोटा

तस्विर : पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा जेठोबुढो धानमा लागेको ब्लाष्ट रोगको अनुगमन गर्दै कृषि प्राविधिकहरु ।