प्रमुख समाचार

पैयूँ-५ मा कोदो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण

By लोकतन्त्र अनलाईन

March 07, 2025

पर्वत – पैयूँ गाउँपालिका-५ मा योजना सम्बन्धी अभिमुखीकरण तालिम तथा कोदो उत्पादन गरेका किसानलाई प्रोत्साहनस्वरूप रकम वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा दुई रोपनीभन्दा बढी कोदो उत्पादन गरेका किसानहरूलाई सम्मान गर्दै नगद प्रोत्साहन प्रदान गरिएको थियो। धरादीका बल बहादुर सेनले चार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती गरेर सबैभन्दा बढी उत्पादन गर्न सफल भएकाले विशेष सम्मान प्राप्त गर्नु भयो ।

पैयूँ गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५ नम्बर वडाका कुल २९ जना किसानलाई रु. ६१हजार ५ सय प्रोत्साहन रकम वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले, “स्थानीय उत्पादन वृद्धि गर्नका लागि यस्ता कार्यक्रमहरू निकै प्रभावकारी हुने बताउनु भयो । किसानलाई प्रोत्साहन गर्दा मात्र कृषि क्षेत्र मजबुत बन्छ। आगामी दिनमा पनि गाउँपालिकाले कृषि प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिनेछ रानाले भन्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका वडा नं. ५ का अध्यक्ष निर्भीक नारायण भुर्तेलले भन्नुभयो, “पालिकाले उत्पादनशील किसानलाई सम्मान गर्दै आत्मनिर्भर बनाउन निरन्तर प्रयास गरिरहेको छ। कोदो जस्ता स्थानीय रैथाने बालीहरूलाई प्रवर्द्धन गर्न सकेमा यसले हाम्रो आर्थिक तथा पोषण सुरक्षामा ठूलो योगदान पुर्‍याउनेछ।”

योजना सम्बन्धी अभिमुखीकरण तालिम आर्थिक प्रशासन शाखा प्रमुख सरिता डुम्रेले प्रदान गर्नुभएको थियो। कार्यक्रममा कृषि शाखाका प्रमुख विश्वास अधिकारी कार्यक्रम सञ्चालक रहनुभएको थियो।