पर्वत २२ माघ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको स्पिड बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो । पर्वतको पैंयू गाउँपालिका स्थित हुवासमा मंगलवार आयोजित नेपाली काँग्रेस पर्वत क्षेत्र ख को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्वोधन गर्दै थापाले सरकारले नियमित काम गरेपनि परिणाम देखिनेगरी गर्न नसकेको बताउँदै सरकार भद्धा भएको बताउनुभयो । सरकारको गति र मती दुवै ठिक नभएको बताउँदै कार्यशैली सुधार गनुपर्ने उहाँको भनाई छ । दुईवटा ठुला दल मिलेर दुई तिहाईको सरकार बनाएपनि जनतालाई आशा जगाउनेगरी काम गर्न नसकेको उहाँले बताउनुभयो ।
उहाँले संविधानमा रहेका केहि उल्झनहरुलाई सच्याएर जानुपर्ने बताउनुभयो । सवै दलहरुको सहभागितामा आवश्यक सहमति गराएर संविधान संशोधन गरिने महामन्त्री थापाको भनाई छ । उहाँले संघीय सरकारको आकार घटाएर प्रदेशलाई बलियो बनाउनुपर्ने समेत बताउनुभयो । उहाँले अहिलेको संघीयताको मोडेल समेत परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
आगामी चुनावमा नेपाली काङ्ग्रेसले परिणामपत्र लिएर जानुपर्ने बताउनुभयो । ‘अब काँग्रेस चुनावमा जाँदा घोषणापत्र हैन, पाँच वर्षमा के के काम भए भन्ने परिणामपत्र लिएर जानुपर्छ’ उहाँले भन्नुभयो जनतालाई परिणाम दिनेगरी काम गर्नुपर्ने बेला आएको छ । बेरोजगारी, गरिबी र युवाहरुको पलायनदर दिन दोगुना रात चौगुना बढेको भन्दै यहि पाराले मुलुकमा समृद्धि नआउने बताउनुभयो ।
उहाँले पार्टीको १५ औं महाधिवेशन समयमै हुने बताउनुभएको छ । नेपाली काँग्रेसको महाधिवेशन वि.सं. २०८२ मंसिर भित्रै गर्नुपर्ने थापाले बताउनुभयो । पछिल्लो समय वि.सं. २०८४ को आमचुनावपछि महाधिवेशन हुने चर्चा चलिरहेको भन्दै उहाँले महाधिवेशनलाई लामो समय गुजार्न नहुने तर्क गनुभयो । तपाईहरु भ्रममा नपर्नुहोला महाधिवेशन निर्धारित समयमै हुन्छ । अधिवेशन अघि पार्टीभित्रका आन्तरिक समस्याहरु समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले नेपाली काँग्रेस आफैमा अल्मलिएको बताउनुभयो । मुलुकको विकासका लागि काँग्रेस नेतृत्वमा थुप्रै काम भएपनि प्रचार गर्न नसकिएको उहाँको दावी छ । महामन्त्रि थापाले अबको १० वर्षमा नेपाललाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसले सुशासन, स्थायित्व, र विकासलाई प्राथमिकता दिनुपर्ने भन्दै ठूला दलहरू जिम्मेवार भई अघि नबढे देश थप अस्थिर हुने दावी गर्नुभयो ।
पुर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका थापाले स्वास्थ्य बिमालाई रु. पाँच लाख पुर्याउनुपर्ने बताउनुभयो । अब कोहि नेपालीले पनि उपचारका लागि घरखेत बिक्रि गर्न नपरोस भन्ने अवस्था सिर्जना गर्नका लागि स्वास्थ्य बिमाको दायरलाई बढाउने बढाउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गोबिन्दबहादुर शाह, तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ लगायतले सम्वोधन गर्नुभएको थियो ।
तस्विर पनि छ ।