पोखरा– सामुदायिक वन उपभोक्ता महसंघ, नेपाल (फेकोफन) गण्डकी प्रदेशको दोस्रो परिषद बैशाख १७ र १८ गते पोखरामा सम्पन्न भएको । परिषद्को उद्घाटन गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले दुईवटा अलग अल बिरुवामा पानी हालेर गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले अब वनको संरक्षण र सम्बद्र्धनका साथै वन क्षेत्रलाई उत्पादनम पनि जोड दिनुपर्ने बताएका थिए । जसरी विगतमा सामुदायिक वनका उपभोक्ताहरु खाली र नांगा डाँडाहरुलाई हराभरा बनाउन लागेका थिए अब ती हुर्केका रुखहरुबाट कसरी आयआर्जन गर्न सकिन्छ भनेर सोच्न र त्यसतर्फ लाग्न आग्रह गर्दै मन्त्री पौडेलले त्यसका लागि आवश्यक पर्ने ऐन, कानून निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका थिए । सामुदायिक वनको स्रोत उपयोगका लागि सहज र सरल कानून निर्माण गर्ने विषयमा मन्त्रालय सँधै सामुदायिक वन उपभोक्ता महासंघसँग सहकार्य गर्न तयार रहेको कुरा मन्त्री पौडेलले बताएका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले उपभोक्ताहरुले आफ्ना छोराछोरीलाई भन्दा बढि माया गरेर हुर्काएको वन क्षेत्रको उपयोगमा विद्यमान ऐन, कानून वाधक बनेको भन्दै त्यस्ता ऐन, कानूनलाई समय सान्दर्भिक बनाउन सरकार समक्ष माग गरेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका सचिवालय सदस्यहरु दोव बहादुर कार्की, सरिता कुमाल, नर बहादुर गुरुङ, केन्द्रीय सदस्यहरु खुमप्रसाद सुवेदी, हरि बास्तोला, केदार काफ्ले, सिता खड्का, एनटीएनसीका डा. अनिता श्रेष्ठ, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्का, सामुदायि वन उपभोक्ता महासंघ, नेपाल म्याग्दी जिल्ला महासंघका अध्यक्ष सुन्तली जि.सी. विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष मिना पौडेल लगायतले बोल्नु भएको थियो ।
परिषद्को वन्द सत्रमा सामुायिक वन उपभोक्ता महासंघ, नेपाल गण्डकी प्रदेशका महासचिव आशु वि.क.ले सांगठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष लिला दवाडीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । दुवै प्रतिवेदनमाथि व्यापक छलफल पश्चात् उपस्थित पार्षदहरुले सर्वसम्मत रुपमा पास गरेका थिए । गण्डकी प्रदेशका एघारै वटा जिल्लाका करिब २ सय ५० भन्दा बढि पार्षद्हरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदाश सुवेदी, संचालन महासचिव आशु वि.क., स्वागत उपाध्यक्ष खगराजा सापकोटा र धन्यवाद ज्ञापन उपाध्यक्ष किशोर सापकोटाले गर्नुभएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश महासंघको परिषद्मा प्रदेश भरिका पालिका महासंका अध्यक्ष र सचिव, जिल्ला महासंघका अध्यक्ष र सचिव तथा प्रदेश महासंघका सबै पदाधिकारी तथा सदस्यहरु पार्षद्को रुपमा रहने व्यवस्था रहेको सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष किशोर सापकोटाले बताउनु भयो ।