प्रमुख समाचार

ठेकेदारको लापरबाहीले सिल्मी–ठुलीपोखरी–कार्कीनेटा सडकको हरिबिजोग

By लोकतन्त्र अनलाईन

November 01, 2025

पर्वत १५ कात्तिक : पर्वतको सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड निर्माण व्यावसायिको लापरवाहीले जोखिमपुर्ण बनेको छ ।

पोखरा–बागलुङ राजमार्गको बैकल्पिक मार्गको रुपमा रहेको यो सडकमा दैनिक सयौं सवारी साधन चल्ने भएपनि समयमा काम नगर्दा यात्रुहरुलाई सास्ती भएको हो । सिल्मी–ठूलीपोखरी सडक खण्डको पोखरी घुम्ती, लौकेको उकालो लगायतका ठाउँमा रहेको सोलिङका ढुंगा उप्काएर अन्यत्र लगिएको तर, उक्त ठाउँमा ग्राभेल लगायतका सामाग्री नराख्दा बिरामी तथा विद्यालय जाने विद्यार्थीहरुलाई समस्या भएको हो । सडक समयमा काम नहुँदा ठूलीपोखरी हुँदै दैनिक आवतजावत गर्ने सवारीसाधन बाटैमा अलपत्र परेका हुन् ।

वैकल्पिक व्यवस्था नगरी सडक अलपत्र छाड्दा उकालो ठाउँमा हिलोले सवारी जान सकिरहेका छैनन् । सवारी साधन नियमित नहुँदा विद्यालय जाने विद्यार्थी तथा बिरामीहरुलाई समेत समस्या भएको स्थानीय ढाकाराम सापकोटाले बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुले समेत वेवास्ता गरेका कारण समस्या आएको भन्दै सवैले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

हिलो हुने समयमा भईरहेको सोलिङ उप्काएर ढुंगा लाने तर बाटो नबनाउने गर्दा स्थानीय समस्यामा परेको कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलक प्रसाद रिमालले बताउनुभयो । वैकल्पिक सडकको उचित व्यवस्थापन तथा मर्मत हुनुपर्नेमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेको उहाँको आरोप छ ।

“हामीले पटक–पटक निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गर्न आग्रह गरेका छौँ, तर खासै ध्यान दिइएको छैन, उहाँले भन्नुभयो–‘कतिपय समयमा उल्टो गाली गर्ने गरेको छ ।”

स्थानीय बासिन्दा तथा यातायात व्यावसायी सुरेश केसीका अनुसार सडक बिग्रँदा दैनिकरूपमा कुश्मा, पोखरा लगायतका ठाउँमा जाने र आउने सवारी साधन आवतजावत गर्न कठिनाइ भएको बताउनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीलाई मर्मतको कुरा उठाउँदा धम्क्याउने गरेको बताउनुभयो । “सडक बनाउन आग्रह गर्दा व्यवसायी आनन्द बरालले उल्टै तथानाम गाली गर्ने गरेको उहाँको भनाई छ । यस्तो व्यवहारले सडकको गुणस्तरमा समेत आशंका रहेको छ,” केसीले भन्नुभयो–‘हामीले जवाफदेही बन्न आग्रह गर्दा उल्टो थर्काउने धम्क्याउने गर्छन् ।’

सो सडकको निर्माण र अनुगमनको जिम्मेवारी लिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले यस विषयमा निर्माण पक्षलाई पटक–पटक निर्देशन दिएको बताउनुभयो । “हामीले तत्काल सडक मर्मत गर्न भनिरहेका छौँ तर, निर्माण व्यावसायिले अटेरी गर्दा यस्तो समस्या आएको हो उहाँले भन्नुभयो– त्यसका लागि स्थानीय जनता र जनप्रतिनिधिले दवाव दिनुपर्छ ।’

सडकमा सोलिङ भएको भाग उप्किएपछि साना गाडी, मोटरसाइकल र पैदल यात्रुहरू आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको छ । स्थानीयहरूले सम्बन्धित निकाय तथा निर्माण कम्पनीलाई तत्काल मर्मत गरी सडक व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

पूर्वाधार विकास कार्यालय पर्वतको आर्थिक वर्ष वि.सं.२०८०/०८१ को स्वीकृत बजेट रु. पाँच करोड ८० लाखमा पाँच किलोमिर सडकको स्तरोन्नती शुरु भएको हो । उक्त सडक यस आर्थिक वर्षमा सकिनुपर्नेमा हालसम्म जम्मा २५ प्रतिशत मात्रै काम भएको छ । सडकमा कालोपत्रे, ढलान, नाली, टेवा पर्खाल तथा जाली लगाउने कार्य हुने जिल्ला पूर्वाधार कार्यालय पर्वतले जनाएको छ ।