पर्वत– नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज पदम गिरीले नेकपा एमालेमा पार्टीको अनुशासन विपरित काम गर्ने जो सुकैलाई पनि कारवाहीको दायरामा ल्याईने बताउनुभएको छ । नेकपा एमाले मोदी गाउँपालिका वडा नं. ५ बाजुङ वडा कमिटिको दोस्रो अधिवेशनलाई सम्वोधन गर्दै गिरीले पार्टीको नीति, विधि नमान्नेहरु कारवाहीको भागिदार हुनुपर्ने बताउनुभयो । नेकपा एमालेले केहि दिन अघि भीम रावललाई कारबाही गरेको चर्चा तल्लो तहसम्म पनि चलिरहेका बेला नेता गिरीले कम्युनिष्ट पार्टीको कार्यकर्ताहरु अनुशासनमा रहनुपर्ने बताउनुभयो । नेकपा एमालेको कार्यकर्ता भएपछि जे पनि गर्ने छुट पाईदैन, पार्टीको मर्म अनुसार चल्नुपर्दछ उहाँले भन्नुभयो जो पार्टीको हित विपरित काम गर्छ उसले कारबाही भोग्नुपर्दछ । पुर्वमन्त्री समेत रहनुभएका नेता गिरीले नेकपा एमालेको नेतृत्वमा भएका कामको प्रचार प्रसार तल्ला तहसम्म पुर्याउन आग्रह गर्नुभयो । नेकपा एमालेको नेतृत्वविना मुलुकको विकास नहुने भन्दै गिरीले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउनेगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले जनताको दुख सुखमा साथ दिनका लागि एमालेका कार्यकर्ताहरु कर्मी मौरीझै सामाजिक काममा जुट्न समेत निर्देशन दिनुभएको छ ।
उहाँले आफु सांसद भएपछि पर्वतको विकासमा धेरै कामहरु गरेको बताउँदै अब जिल्लाका ६१ वटै वडासम्म कालोपत्रे सडकको पहुँच पुर्याउन लागि परेको बताउनुभयो । गाउँमै आधरभुत विकासका कामहरु पुर्याउन नसके बसाईसराई रोक्न नसकिने भएकाले सडक, खानेपानी, स्वास्थ्य, विद्युत, सिचाईको पहुँच सवै नागरिक र टोलबस्तीसम्म पुर्याउनका लागि आफु सक्रिय भएर लागेको उहाँका भनाई रहेको छ । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य मेघनाथ सुवेदी, एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवम् मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, जिल्ला अध्यक्ष गोबिन्द पहाडी, प्रदेश कमिटी सदस्य प्रेम पौडेल, प्रदेश सभा सदस्य भक्त कुँवर, जिल्ला उपाध्यक्ष एबम् मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने, सचिब सुवासचन्द्र पौडेल लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।् अधिवेशनले राजेश शाहीको अध्यक्षतामा सर्वसम्मत रुपमा वडा कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा वम बहादुर कुँवर, सचिबमा विदुर हमाल, उप–सचिवमा महेन्द्र क्षेत्री र सिता पौडेल रहनुभएको छ । बाजुङमा २१ सदस्यीय वडा कमिटी सर्वसम्मतरुपमा निर्वाचित भएको हो ।