पर्वत, १४ भदौ : पर्वतको महाशिला गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा दिन शुरु गरेको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क रुपमा वडामै रहेको स्वास्थ्य चौकीमा उपलव्ध गराउन थालेको हो ।
गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको महाशिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरबहादुर बरालले जानकारी दिनुभयो । यो सेवाबाट गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, उनीहरूको अवस्थामा समस्या रहेमा गाउँपालिकाकै स्वास्थ्य संस्था र जोखिम भए अन्यत्र रिफर गरिने उहाँले बताउनुभयो ।
गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य चौकीमा उक्त सेवा उपलव्ध गराईने भएको छ । गर्भवती महिलाहरुका लागि होश्राङ्दी स्वास्थ्य चौकीमा भदौ १६ गते, भोकसिङ्ग स्वास्थ्य चौकीमा भदौ १८ गते, बालाकोट स्वास्थ्य चौकीमा भदौ २० गते, पाखापानी स्वास्थ्य चौकीमा भदौ २३ गते, पाखापानी सामुदायिक स्वास्थ्य इकाई बाइकाठमा भदौ २५ गते तथा वडा नं. ६ फलामखानी स्वास्थ्य चौकिमा भदौ २७ गते निशुल्क भिडियो एक्स–रे सेवा संचालन गर्ने स्वास्थ्य शाखा प्रमुख बरालले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नं. ५ लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा भने चौविसै घण्टा भिडियो एक्सरे सेवा उपलव्ध हुँदै आएको छ । उक्त केन्द्रसम्म आउन नसक्ने, विपन्न, असहाय तथा सवारी साधानमा आउँदा अन्य जोखिमहरु समेत हुने भएकाले वडामै पुगेर एक्सरे सेवा दिन थालिएको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसालले जानकारी दिनुभयो ।
उहाँले गर्भवतीलाई सरल र सहज तरिकाबाट अल्ट्रासाउण्ड सेवा पु¥याउनका लागि निःशुल्क रुपमा ग्रामीण अल्ट्रासाउण्डको सुरुआत भएको र हरेक महिना सञ्चालन हुने जानकारी दिनुभयो । महाशिलाले गत वर्षदेखि वडामै भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको छ ।